हलियासंग संवाद –शरद पौडेल

प्रकाशित मिति : शनि, साउन ४, २०७६

देशको सुदुर पश्चिम भूगोलमा
जतिबेला मैले भेटें तिम्लाई,
मालिकको जीवन सिंगारिरहेको तिमी,
तिमी आँफैचाहिँ अधमरो थियौ !
न त तिमीसंग
तिम्रो आफ्नै माटो थियो,
न आफ्नै ओत र आँगन थियो !
मालिकका रहरहरूमा
मालिकै कहरहरूमा
बन्दक थियौ तिमी !

देशको सुदुरपश्चिम भुगोलमा
जतिबेला भेटें मैले तिमीलाई
पौरख र क्षमताहरू बिर्सेर आफ्ना
लाचारी र थकाईले चुर चिमी
तिमी मागिरहेका थियौ दया
वा बिकल्पमा
मागिरहेका थियौ सरकारसंग
जीवन बिसर्जनका लागि बिष !

थाहा छैन
तिमीलाई कस्तो छ अहिले ?
तिमी कस्तो छौ अहिले ?
लाख हण्डर र ईखहरूले
जीवन ईस्पातिलो बल्यौ ?
वा, सरकरले पठाईदिएको
जहर पिएर ढल्यौ ???