भूकम्पले क्षति पु-याएको नेपालका प्राचिन सम्पदामध्ये ५८ प्रतिशत मात्र पुनर्निर्माण

प्रकाशित मिति : शनि, साउन ४, २०७६

काठमाडौं । विश्व सम्पदा सूचीमा परेका भूकम्पबाट भत्किएका नेपालका सम्पदाहरुको पुनर्निर्माण छिटो सक्ने लक्ष्य राखिएको छ । तर पनि सम्पदाको वास्तविक स्वरुप जोगाउनका लागि कठिनाई हुने भएकाले समय तोक्न मुस्किल पर्ने नेपाल पुरातत्व विभागले जनाएको छ । सम्पदा सूचीकृत गर्ने संयुक्त राष्ट्रसंघको युनेस्कोले पुनर्निमाण सक्न सचेत गराएको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका प्राचिन सम्पदा मध्ये ४ वर्षमा ५८ प्रतिशत मात्र पुनःनिर्माण सम्पन्न भएको छ । नेपाल पुरातत्व विभागका अनुसार भूकम्पबाट क्षति भएका अतिप्रभावित १४ जिल्लाका ७ सय ५३ र प्रभावित १७ जिल्लाका १ सय ३८ गरी ८ सय ९१ वटा सम्पदामा क्षति पुगेकोछ ।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा जम्मा ३ सय ७४ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको छ । हालसम्म पुरातत्व विभागले ३०० वटा, पशुपति क्षेत्र विकास कोष ले २९ वटा र अन्य संघसंस्थाले ४५ वटा सम्पदाको पुनर्निर्माण सकेका छन् । सम्पदाको पुनर्निर्माणकार्यमा हालसम्म करीब २ अर्ब ३९ करोड ४३ लाख खर्च भएको छ ।

आर्थिक वर्ष २०७५/७६मा करीब १ अर्ब २ करोड प्राचिन सम्मपदा पुननिर्माण कार्यमा खर्च भएको विभागले जनाएको छ । विभागले सम्पदाहरुको पुनर्निर्माण कठिनाई हुने भएको भन्दै छिट्टै सक्न प्रयासरत् रहेको जनाएको छ ।

पुरातत्व विभागले आर्थिक वर्ष २०७६/७७ मा पुनर्निर्माण हुन बाँकी रहेका ३ सय ८९ वटा मध्ये १ सय ५० वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्राचिन सम्पदाहरुले नेपाललाई विश्वसामु चिनाएको छ । विश्वमा चिनाउन सफल सम्पदाको पुनर्निर्माणमा सरकारले विशेष चासो देखाउनुपर्ने सरोकारवालाहरुले सुझाएका छन् ।