बालुवाटारमा पूर्व एमालेको बैठक, एकता प्रक्रिया टुंग्याउन गृहकार्य

प्रकाशित मिति : शुक्र, साउन ३, २०७६

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वएमालेको बैठक बसेको छ। विभागको नेतृत्वको गृहकार्यका लागि बिहीबार राति बैठक बसेको र केही विषयमा समझदारी जुटेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। उनले के कुरामा सहमति जुट्यो भन्ने खुलासा भने गरेनन्। केही गृहकार्य भएको छ, पाँच गते घोषणा गर्छौं, उनले भने।

स्रोतका अनुसार पार्टीको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव नेपाललाई बनाउने सहमति भएको छ। यसअघि नेता नेपाल साविक पार्टीको विदेश मामला विभाग प्रमुख नै थिए। संगठन विभाग प्रमुख किसान महासंघका अध्यक्षसमेत रहेका वामदेव गौतमलाई बनाउने तयारी छ। एमालेमा उक्त विभाग पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए।

गौतम बर्दिया १ मा चुनाव हारेपछि जिम्मेवारीविहीन छन्। पार्टीभित्रको शक्ति सन्तुलनका लागि नेता गौतमलाई नै संगठन विभाग दिनुपर्ने अडानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, माधव नेपाल थिए। ओली पक्षले भने ईश्वर पोखरेललाई बनाउन चाहेको थियो।

त्यस्तै, खनाल अर्थ तथा योजना विभाग र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख हुनेबारेमा छलफल भएको स्रोतको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पनि नेकपाका नेताहरूबीच छलफल जारी छ। एकता प्रक्रिया थप लम्बिन नदिने र पाँच गते टुंग्याउने गरी नेताहरूले गृहकार्य गरिरहेको बालुवाटार स्रोतले जानकारी दियो।