नेकपाका पाटी एकता बाँकी काम आजै टुंगो लाग्ने : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : मङ्ल, असार ३१, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम आजै टुंगो लगाउने बताएका छन् । उनले असार मसान्तसम्म एकताका सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल जारी रहेको बताएका हुन् ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष दाहालले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमती भइसकेको जानकारी दिएका छन । प्रधानमन्त्री ओली र आफूबीच भएको सहमतीलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने उनको भनाइ छ । उनले पार्टी एकताको सबै कामले पूर्णता पाएपछि केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका छन ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । उनले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहानाअनुसार काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका थिए ।