सामाजिक सुरक्षा ऐन अपरिहार्य, श्रम ऐन संशोसधन अनिवार्य – का.बा. अध्यक्ष जगत सिम्खडा

प्रकाशित मिति : सोम, असार ३०, २०७६

प्रदेश एकको बैठकको तस्बिरहरु रामचन्द्र कार्कीद्धारा उपलब्ध गराईएको हो

उपेन्द्र राय, बिराटनगर ,मोरङ

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) प्रदेश एक को बैठक असार २८ गते शनिवार इटहरीमा सम्पन्न भएको छ।

बैठक प्रदेश अध्यक्ष टीका प्रसाईको अध्यक्षता तथा संचालनमा अखिल नेपाल ट्रेड युनियन महासंघ का.बा.अध्यक्ष एवं माननीय सांसद जगतबहादुर सिंखडाको प्रमुख आतिथ्य, उपाध्यक्ष धनबहादुर बि.क., उपमहासचिव तथा प्रदेश ईन्चार्ज भुपाल सापकोटा र यातायात केन्द्रीय उपाध्यक्ष रामचन्द्र कार्कीको आतिथ्य रहेको थियो।
बैठकले प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या घटाउने, जिल्ला महासंघ तथा स्थानीय तहहरुको बैठक गर्ने र एक महिने संगठनात्मक सुदृढ अभियान चलाई सदस्यता नविकरण लगायत श्रमऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा उद्योगी, व्यवसायीको आनाकानी बिरुद्ध सशक्त आन्दोलन गर्ने निर्णयसँगै हालै आइरहेको वर्षाको कारण वाढी पिडितको उद्दार तथा राहतमा जट्ने निर्णय गरेको छ।

प्रमुख अतिथि अन्टुफको अध्यक्ष तथा माननीय जगतबहादुर सिंखडाले प्रदेश १  नेपालकै औद्दोगिकरणको शुरुवात, ऐतिहाससित मजदुर आन्दोलनको जग र राजनैतिक चेतनाको केन्द्र रहेकोले यहाँका श्रमिकहरु र यस्का अगुवा साथीहरूले त्यो ऐतिहासिक साख जोगाउनु जरुरी छ भन्नु हुदै उत्पिडितबर्ग र श्रमिकहरुप्रति सदैब उत्तरदायी भएर हरेक खाले षड्यन्त्र तथा थिचोमिचोको विरुद्ध एक जुट भएर प्रतिवाद गर्न भन्नुभयो।
साथै श्रमऐन २०७४ का केही दफाहरु मजदुरमारा रहेकोले त्यसलाई संशोधन वा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।श्रमऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनमा उद्योगी ,व्यवसायी, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आनाकानी गरिरहेकोप्रति कडा विरोध गर्नु भयो। यी ऐनहरु कार्यान्वयन नहुनुमा नेपाल उद्योग बाणिज्य महासंघले नै आन्तरिक सर्कुलर जारी गरेको हुँदा हालसम्म उद्योग ,प्रतिष्ठान तथा श्रमिकहरुको सूचिकरण नभएको कुरा बताउनुभयो ।अब सम्पूर्ण श्रमिकहरुलेआन्दोलनको आँधीबेरी सृजना गरेर संघर्षबाटै श्रम ऐन संशोधन सहित कार्यान्वयन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन संभव रहेकोले सो कार्यमा लाग्न निर्देशन दिनुभयो।

अतिथि केन्द्रीय उपाध्यक्ष कमरेड धनबहादुर बि.क.ले नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको महत्त्व र यसको कार्यान्वयनको चुनौतीहरुबारे विस्तारमा बताउनुभयो । उद्योग ,प्रतिस्ठान तथा श्रमिकहरुको सूचिकरण नभईरहेकोले सूचिकरण गराउन आन्दोलनको विकल्प नरहेको भनाई राख्नु भयो भने अतिथि उपमहासचिव तथा प्रदेश ईन्चार्ज भुपाल सापकोटाले महासंघ केन्द्रको अपेक्षा अनुरुप एकजुट भएर अघि बढ्ने र साँगठनिक योजनाहरु दृढता पूर्वक लाग्ने भनाई राख्नुभयो।
अन्त्यमा बैठकले गरेका निर्णयहरु इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ अध्यक्ष टीका प्रसाईंले बैठक समापन गर्नुभयो।