सरकारले बाढी पहिरो पीडितको उपचार र राहतमा कुनै कमी हुन नदिने

प्रकाशित मिति : आइत, असार २९, २०७६

काठमाडौं । सरकारले देशका विभिन्‍न भागमा आएको बाढी पहिरो र डुबानपीडितका लागि विशेष राहत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरो पीडितको उपचार र राहतमा कुनै कमी हुन नदिने जनाएको छ। तर सरकारले बाढी पहिरो र डुबानबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई कुनै राहतको घोषणा गरेन।

प्रदेश २ र प्रदेश ३ सरकारले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत घोषणा गरि सकेका छन्। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यका सबै निकायलाई परिचालित गर्ने निर्णय पनि गरेको छ।

मन्त्रपरिषद्ले घाइतेहरुको उपचारको सबै व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले देशका विभिन्‍न भागमा अवरुद्ध बनेको सडक खुलाउन रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयलाई समन्वयात्मक शैलीमा परिचालित गर्ने निर्णय गरेको छ।