भारतीयले बाँधेका बाँधका कारण र सडक निर्माणले नेपालमा डुबान : विप्लव

प्रकाशित मिति : आइत, असार २९, २०७६

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भारतीय बाँध र विशाल सडकका नेपालमा डुबान भएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भारतसँग भएका असमान सन्धि सम्झौता स्मरण गर्दै नेपाल-भारत सीमानामा बनेका बाँध, तटबन्ध र सिमानासँग टाँसेर बनाइएका विशाल सडकहरु डुबानका प्रमुख कारण रहेका बताएका हुन् ।

‘ बिहीबारदेखि देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको छ’, विप्लवले भनेका छन्, ‘प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्वतयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ।

विप्लवले प्राकृतिक विपदमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारमा पनि जुट्न भनेका छन्। ‘प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ’, विप्लवले भनेका छन्, ‘पीडित परिवारजनप्रति पार्टी सहानुभूति व्यक्त गर्दछ।

मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’ उनले प्राकृतिक विपदमा परेकाको उद्धारमा जुट्न पनि अपिल गरेका छन्। ‘सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गर्दछौँ’, विप्लवले भनेका छन्।