नेकपा अध्यक्षद्वयद्वारा प्राकृतिक प्रकोपका पीडितप्रति दुःख व्यक्त उद्धार तथा राहतका लागि आवान्

प्रकाशित मिति : शनि, असार २८, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा बाढी–पहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शनिबार बिहान विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय ओली तथा प्रचण्डले देशमा आएको प्राकृतिक प्रकोपबाट भएकाे मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, देशका विभिन्न भागमा हालै भएको अविरल वर्षाका कारण सिर्जित बाढी–पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ ।

दुःखको यस घडीमा ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । अध्यक्ष ओली र प्रचण्डले बाढीपहिरोमा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरूको उद्धार तथा राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं ।