अबिरल वर्षापछि बाढीले प्रदेश १ मा दुईजना बगायो, कोशी ब्यारेजका २३ ढोका खोलिए

प्रकाशित मिति : शुक्र, असार २७, २०७६

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीले प्रदेश १ मा दुईजना बगाएको छ। प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालले जानकारी गराएअनुसार इटहरीमा स्थानीय सुकुमारी खोलाले बगाएर उदयपुरका अन्दाजी ३५ वर्षिय सागर थापाको मृत्यु भएको छ भने मोरङ्गको कानेपोखरीमा गेउरिया खोलाले अन्दाजी ३५ वर्षका एक पुरुषलाई बगाएको छ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहे पनि पत्ता नलागेको दाहालले जानकारी गराएका छन्। यसैगरी मोरङ्ग जिल्लाको मावा खोलाले सुमित्रामाया कुमाल नामकी एक महिलालाई बगाएकोमा उनको जीवितै उद्धार भएको छ। उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर फिर्ता गरिएको छ।

सप्तकोशीमा आज बिहानको पानीको वहाव १ लाख ७६ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड रहेको प्रहरीले जानकारी दिएको छ। खतरा नहोस् भनेर सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। एसएसपी दाहालले पानीको बहाव बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइएको जनाए।