विषादी परीक्षण रोक्न दूतावासले सरकालाई पठाएको पत्र गैरकुटनीतिक : महासंघ संयोजक गौतम

प्रकाशित मिति : बुध, असार २५, २०७६

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदुतावासले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने नेपाल सरकारो निर्णय रोक्नका लागि नेपाल सरकालाई पठाएको पत्र गैरकुटनीतिक भएको भन्दै अखिल नेपाल किसान महासंघले ध्यानाकर्षण भएकव जनाएको छ।

नेकपाका सचिवालय सदस्यसमेत रहेका वामदेव गौतम संयोजक रहेको अखिल नेपाल किसान महासंघको मंगलबार बसेको बैठकले भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल अल्पविकसित राष्ट्र भएकोले नेपाल सरकारले अहिले पनि विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने विषयमा छुट पाउने व्यहोरा भारतीय राजदूतावासलाई जानकारी हुनुपर्ने हो। भारतीय दूतावासले नेपाल सरकारलाई दिएको पत्रले नेपाली किसानको उत्पादनमाथि हस्तक्षेप गरेकाले अखिल नेपाल किसान महासंघ नेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ।’

आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा भएको महासंघको ठहर छ। तर, भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण भएको भन्दै किसान महासंघले आपत्ति जनाएको छ।

‘यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ। नेपाली कांग्रेसलगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदूतावासको पत्राचारकोविरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन।’

तर, भारतीय दूतावासले उक्त निर्णय रोक्न पत्र पठाए लगत्तै नेपाल सरकारले विषादी परीक्षण निर्णय असार १९ गते फिर्ता गरेको थियो। भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुर्‍याउन रसायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगर्ने भएकोले नेपाल सरकारले द्रुत विषादी मापनयन्त्रबाट विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।