तिम्रो उद्योगधन्दा चलाउन, तिम्रो नाफाका लागि मजदुरले भोकभोकै काम गरिदिनु पर्ने ?

प्रकाशित मिति : आइत, असार २२, २०७६

हाकाहाकी प्रतिनिधि,
२१ असार ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यवाहक अध्यक्ष जगत सिम्खडाले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने औधोगिक प्रतिष्ठानहरूमा आन्दोलन सुरु गर्न निर्देशन दिएका छन् ।
प्रदेश ३ को प्रदेश सभा सांसद समेत रहेका कावा अध्यक्ष सिम्खडाले महासंघको कार्यालयमा शुक्रबार यातायात सम्बद्ध परिषदको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्ने क्रममा यस्तो बताएका हुन् ।
यातायात सम्बद्ध परिषदका इन्चार्ज सोम तामाङकाअनुसार बैठकमा विगतमा भएका ट्रेड युनियन आन्दोलनको स्मरण गर्दै कावा अध्यक्ष सिम्खडाले भने, ‘वर्तमान ऐन कानुन कार्यान्वयन नगर्ने औधोगिक प्रतिष्ठानहरूमा २०६३र६४ सालमा जस्तै लाठी बोकेर आन्दोलन गर्न उचित नभए पनि ०६६र६७ सालतिरको जस्तो गरी तालाबन्दीसहित तत्काल आन्दोलन सुरु गर्नु होला ।’
अन्टुफ कावा अध्यक्ष सिम्खडाले औधोगिक प्रतिष्ठानका सञ्चालकहरूलाई एक महिना मात्रै श्रमिकले प्राप्त गर्ने १३ हजार ४ सय ५० रुपैयाँले आफ्नो खर्च चलाएर देखाउन चुनौती पनि दिए । उनले भने, ‘१३ हजार ४ सय ५० रुपैयाँले उद्योगपतिले एक महिना मात्रै आफ्नो खर्च चलाएर, बाँचेर देखाओस्, यदि त्यसो गर्न सक्यौ भने श्रम ऐन र सामाजिक सुरक्षाबारे सोचौंला । होइन भने, तिम्रो उद्योगधन्दा चलाउन, तिम्रो नाफाका लागि मजदुरले भोकभोकै काम गरिदिनु पर्ने रु त्यस्तो हुन सक्दैन । ऐन कार्यान्वयन नभए मजदुरले आन्दोलन गर्छ ।’
संगठन बिगतमा जसरी चल्यो, चल्यो, अब त्यसरी चल्दैन

अर्को एक प्रसङ्गमा कावा अध्यक्ष सिम्खडाले संगठनमा काम नगर्ने र उद्योगपतिसँग मिलेर श्रमिकको पेटमा लात हान्ने मालिक मजदुरहरूलाई सम्मानपूर्वक बिदाई गर्नु पर्ने बताए । उनले भने, ‘नचल्ने र काम नलाग्ने पूर्जाहरू झिक्नुपर्दछ । उद्योगपति र मजदुरका नेता चिन्नै नसक्ने भयो, एकै ठाउँमा खान्छन्, एकै ठाउँमा बस्छन् । पहिले–पहिले त मजदुरका नेता भन्नासाथ मालिकहरू परपर भाग्थ्यो, नजिकै पर्न सक्दैनथ्यो ।’
उनले जिम्मेवारी लिने तर जिम्मेवारी पूरा नगर्नेहरूले पनि संगठन छोदिदिनु पर्ने बताए । साथै, आर्थिक रुपमा आफू इकाइका सबै सदस्यहरूसँग आँखा जुधाएर काम गर्नसक्ने गरी पारदर्शी हुने भन्दै कुनै पनि संगठनका नेता कार्यकर्ता अपारदर्शी भए संगठनले आवश्यक एक्सन लिने बताए ।
कावा अध्यक्ष सिम्खडाले महासंघमा बस्ने तर सिस्टममा नबस्नेले सिस्टमको कुरा गर्न नसुहाउने बताए । उनले भने, ‘सिस्टममा चल्नेहरूलाई सिस्टमै नबस्नेले खिसीट्युरी गरेको सुहाउँदैन् । उनीहरूले गभीरतापूर्वक सोचेहुन्छ, अब संगठन बिगतमा जसरी चल्यो, चल्यो, अब त्यसरी चल्दैन ।’

एक महिने अभियान लडाईं हो

उनले एक महिने अभियानमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिँदै संगठन बलियो नभए दुई ट्रेड युनियनको एकता, ‘एकता’ नभएर ए कता हुने बताएका छन् ।
जिफन्ट र अन्टुफका नेता कार्यकर्ताहरूले अध्ययन गरेको विश्वविद्यालय अलग–अलग रहेको भन्दै सांसद सिम्खडाले एकता असहज नभए पनि सहज चाहिँ नरहेको बताए । उनले भने, ‘एक महिने अभियान लडाईं हो । यसलाई लडाईंका रुपमा लिनु होला र त्यहीअनुरुप संगठनलाई एकताका निम्ति तयार राख्नुहोला, नत्र संगठनको ‘एकता’ एकता नभएर ए कता, ए कता हुनसक्छ ।’
अन्टुफ–जिफन्टको एकताले मजदुरको हक, अधिकार सुनिश्चित नगरे कुनै पनि ट्रेड युनियनले मजदुरको अधिकार दिलाउन नसक्ने भन्दै उनले भने, ‘यो एकता सही तरिकाले व्यवस्थापन भएको खण्डमा अहिलेसम्म प्राप्त नभएको श्रमिक अधिकार पनि प्राप्त हुनेवाला छ ।’
अन्टुफ कावा अध्यक्ष सिम्खडाले खजुरी लगायतका औधोगिक प्रतिष्ठानका मालिकहरू उद्योगलाई स्थानतरण गर्न र यथास्थानको उद्योग बन्द गरी जग्गा प्लटिङ्ग गरेर बेच्ने दाउमा रहेकाले ट्रेड युनियनमा आवद्ध मजदुरहरूलाई विभिन्न बाहना बनाई निष्काशन गर्ने खेलमा रहेको बताए । उनले खजुरीको नेपालका सञ्चालक कुनै न कुनै बाहना गरेर उद्योग बन्द गर्ने दाउमा रहेकाले त्यहाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनका मागसहित तत्कालै आन्दोलन उठाउन सुझाए ।