अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

प्रकाशित मिति : बुध, असार १८, २०७६

कैलाली – अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन बाटै पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठीको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेकै बेला देवकोटा सहित अन्य तिनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

आफुहरु विरुद्द नगरपालिकाले सार्वजनिक मुद्दा दर्ता गरेको विषयमा पत्रकार सम्मेलन गरिरहेकै बेला देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिनैजना विरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हित विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराएकोले सोही अनुसार कारवाही हुने प्रवक्ता बस्नेतले बताए ।

गत असार १० गते गोदावरी नगरपालिकाको नगरसभा चलिरहेका बेला आफूहरुलाई बोल्न नदिएको भन्दै अध्यक्ष देवकोटा सहित केही व्यापारीले विरोध जनाएका थिए ।