अहंकार विरुद्ध – यकिना अगाध

प्रकाशित मिति : आइत, असार १५, २०७६
मधेशले अन्न पठायो
पहाडले श्रम पठायो
हिमालले औषधी पठायो
र सोध्यो उपत्यकालाई–
हामीलाई के दिन्छौ ?
भन्यो उपत्यकाले–
मसँग
लिने हात मात्र छ, दिने छैन ।
त्यसपछि… त्यसपछि…
रिसायो मधेश
रिसायो पहाड
रिसायो हिमाल
र पठायो मन्जुश्रीलाई ।
काटियो त्यो
शक्तिशाली उपत्यकाको घाँटी
साक्षी छ
किनारामा चोभार ।
देख्ने र भोग्नेहरु छन्
इतिहास बनेका
बसन्तपुर, धरहारा, घन्टाघर
अनि राजदरबार ।
नपत्याए सोध
ए वर्तमानका सिंहदरबार !
बनेर ज्याद्रो
भुलेर विगत
गर्दै छौ उपद्रो ।
लिन जान्ने, दिन नजान्ने
ए सिंहदरबार !
फेरि आउनेछ
मन्जुश्रीको नयाँ अवतार
र धुलो चटाउनेछ तेरो अहंकार ।