होटल हायात विवाद : मजदुरहरु अझै अलपत्रमा, प्रमुख वित्त अधिकृत बंगमाथि करोडौं आर्थिक हिनामिनाको आरोप

प्रकाशित मिति : शुक्र, असार १३, २०७६

फोटो फाईल

काठमाडौं, मजदुर र मालिकबीचको विवाद समाधान हुन नपाउँदै पाँचतारे होटल तारागाउँ होटल हायात रेजेन्सीकी प्रमुख वित्त अधिकृत रानी बंगले करोडौं रकम हिनामिना गरेको आरोप लागेको छ।
होटल हायातका पूर्वकर्मचारी एस कार्की लगायत केही कर्मचारीले वित्त अधिकृत बंगले ७ वर्षदेखि होटल हायातको कारोबार रकममा हिनामिना गर्दै आइरहेको आरोप लगाएका हुन्।
नेपाल सरकारको समेत लगानी रहेको तारागाउँ रिजेन्सी होटल हायातमा ७ वर्षअगाडि प्रमुख वित्त अधिकृत भएका बंगले गैरकानुनी रुपमा गोप्य व्यक्तिगत लगानी गर्दै आइरहेको कार्कीको नाममा जारी भएको विज्ञप्तिमा उल्लेख छ।
साथै आरोप पत्रमा गैरकानुनी रुपमा गरिएको लगानीमार्फत बंगले ३५ करोड बराबर सम्पत्ति आर्जन गरिसकेको उल्लेख छ।
होटललाई चाहिने खाद्यान्न, तरकारी, फलफूल, पेय लगायत सामानहरु आयात गर्ने क्रममा ५२ वटा फार्मसँग डिल गरी वार्षिक १० प्रतिशतका दरले कमिसन खाने गरेको कर्मचारीको आरोप छ।
बंगले २०७५ सालमा ७ करोड ५० लाख हिनामिना गरेको कर्मचारीहरुले आरोप लगाएका छन्। मासिक ५ लाख तलब लिँदै आएकी प्रमुख वित्त अधिकृत बंगले मासिक १ लाख १७ हजार मात्र तलब लिएको देखाई कर छली गर्ने गरेको समेत उनीहरुको आरोप छ।

पाँचतारे होटल तारागाउँ होटल हायात रेजेन्सी

अधिकृत बंगले गैरकानुनी कार्यहरुको ढाकछोप गर्ने उद्देश्यले पूर्वप्रहरी अधिकृत र पार्टीको नेतृत्वमा रहेका व्यक्तिलाई सल्लाहकारका रुपमा नियुक्त गरेको पूर्वकर्मचारीहरुले बताएका छन्।
नयाँ कर्मचारीहरुलाई समेत बंगले श्रम ऐन २०७५ अनुसार सेवासुविधा उपलब्ध गराउन आनाकानी गरेको कर्मचारीहरुको आरोप छ। सरकारी तथा व्यक्तिगत सेयरसमेत रहेको होटल हायातको मुनाफा हिनामिना गरी हालसम्म ३५ करोड अकुत सम्पति आर्जन गरेको कर्मचारीहरुले उल्लेख गरेका छन्।
यसरी प्रमुख वित्त अधिकारी बंगले गरेको आर्थिक हिनामिनाले अन्य सरकार लगायत अन्य सेयरधनीहरुलाई समेत नोक्सानी पर्ने भएकाले सम्बन्धित निकालयले छानबिन गरी कारबाही गर्नुपर्ने कर्मचारीहरुले माग गरेका छन्।

पिँडित मजदुरहरुद्धारा जारी प्रेस विज्ञप्ति

 

 

 

From Nepal Live