‘प्रलेस नेपालका सबै प्रगतिशील र वामपंथीहरूको साझा मोर्चा हो’ – अध्यक्ष मातृका पोखरेल

अन्तरवार्ता

प्रकाशित मिति : शुक्र, चैत्र १५, २०७५
२०७५ चैत्र २२ र २३ गते वामपन्थी लेखकसाहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक संघ (प्रलेस)को ११औं राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा ५० भन्दा बढी जिल्लाहरूबाट ६ सयजति लेखककलाकारहरू आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा चैत्र २२ गते ११ बजे ललितपुर जिल्लाको बाल्कुमारीस्थित तुलसिलाल स्मृति भवनमा यो राष्ट्रिय सम्मेलनको उद्घाटन हुँदैछ । प्रलेसको औचित्य समाप्त भएको बताउँदै कतिपयले सत्ताइतर क्रान्तिकारी साँस्कृतिक धाराको संघ बनाउन गृहकार्य थालेका छन् । यस्ता समसामयिक विषयहरूमा तिलक चाम्लिङले प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलसँग गरेको कुराकानी, सम्पादक ।
समानुपातिक समावेसी प्रलेसले किन मान्दैन ?
समावेशी मान्छ । तर समानुपातिक मान्दैन । यो संस्था लेखकहरूको हो । सम्भवभएसम्म सबैलाई समेट्छ । राजनीतिक संगठनजस्तै यसमा समानुपातिक हुन्न । तर  महिला, आदिवासी जनजातिलगायत सीमान्तकृत समूदायकाहरूलाई खोजीखोजी राख्छौं ।
नेपाली भाषामा लेखिएको मात्रै हो नेपाली साहित्य ?
नेपालमा बोलिने सबै राष्ट्र भाषाहरूमा लेखिएको साहित्य नेपाली साहित्य हुन् । ५४/५५ सालदेखि नै हामीले नेपालका सबै भाषा समृद्धिका लागि अभियान चलाउँदै आएका छौं । तामाङ र मगरमा काम भइरहेको छ । कति काम भइसकेको छ ।
राष्ट्रिय सम्मेलनको मुखैमा हुनुहुन्छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले बेग्लै संस्था गठनको तयारी गरिरहेको सुनिन्छ नि ?
नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको संगठनले  सरकारसँग रहेको पार्टी अन्तर्गतको प्रलेसमा नबस्ने निर्णय गरेको छ । उहाँहरूले गलत गर्नुभयो । उहाँहरूले प्रलेसले गरेको गल्तीलाई पो हेर्नुपर्छ । पार्टीले गरेको कामलाई लिएर प्रलेसलाई मुछ्नुपर्ने जरुरी नै थिएन । प्रगतिशील लेखक संघ सरकारमा रहेका पार्टीअन्तर्गतको हो भनेर धारणा बनाउनु नै गलत हो ।
पदको भागबण्डामा उहाँहरूको गुनासो थियो क्यारे ?
केही समयअगाडि प्रगतिशील लेखक संघको नेतृत्व उहाँहरूले माग गर्नुभएको थियो । यो साझा मोर्चा हो हामीले मात्रै नेतृत्व लिनु हुँदैन । छलफल गरौं भनेका थियौं । फेरि उहाँहरूले नै नेतृत्व हामीले लिए पनि तल संगठन छैन भन्नुभयो । काम गर्न नसकिएला । सहयोग हुँदैन कि भन्ने उहाँहरूको सोच थियो । तर, त्यो उहाँहरुको गलत सोच थियो । संगठनमा बसेपछि काम तेरोमेरो भन्ने हुँदैन । हाम्रा साथीहरूले सहयोग गरिहाल्थे ।
उहाँहरूले सरकारको कामको रिस प्रलेसमा पोखेका हुन् ?
सरकारले विप्लव नेतृत्वलाई प्रतिबन्ध लगाउँदा सबैभन्दा पहिले प्रलेसले नै विज्ञप्ति निकालेको छ । सरकारले यस्ता गलत कामहरू गर्दा प्रलेसले सँधै विरोध गर्दै आएको छ । प्रलेस चुप लागेर बसेको छैन । उहाँहरूसँग प्रलेसलाई आरोप लागाउने केही आधार छैन । उहाँहरूको संगठनले भन्दा प्रलेसले बढी काम गरिरहेको छ । सरकारको कामसँग प्रलेसलाई किन जोड्नु ? आरोप लगाउने यो आधार गलत छ ।
विचारमा केही विचलन आयो भन्छन् नि ? प्रलेसको औचित्य समाप्त भएकै हो ?
श्यामप्रसाद शर्माको नेतृत्वमा वि.सं २००९ मा प्रलेस स्थापना भएको हो । प्रलेसले सामन्तवाद र साम्राज्यवादविरोधी अभियानहरू गर्दै आएको छ ।  अहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सिपी मैनाली नेतृत्वको नेकपा (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लेखककलाकारहरू प्रलेससँगै छन् । एकदुई जनाले प्रलेसको औचित्य समाप्त भयो भन्दैमा त्यसरी नै हेरिहाल्नु हुन्न ।
प्रलेस जनवादी साँस्कृतिक आन्दोलनमा कि समाजवादी साँस्कृतिक आन्दोलनमा छ ?
विधानमा साझा मोर्चा भनिएको छ । जनबावादी साँस्कृतिक आन्दोलन कि समाजवादी साँस्कृतिक आन्दोलन भन्नेहरू पनि छन् । प्रलेस यसको बीचमा बसेर काम गर्छ । सबैलाई समेट्छ ।
प्रलेस वामपन्थी लेखक साहित्यकारको साझा मोर्चा भन्ने थाहा छ । तर,  सबै खाल्का विचारहरुलाई प्रलेसले समेट्छ भनेको के हो ?
श्यामप्रसाद शर्माहरूले सुरुमा नै यो संगठन बनाउँदा वामपन्थी तथा प्रगतिशीलहरूको साझा मोर्चा भनेका थिए । यथास्थितिभन्दा अलिक अगाडि सोच भएका लेखककलाकारहरू पनि प्रलेसमा समेटेका थिए । कम्तिमा लेखक चाहीँ हुनुपर्छ । जस्तै इतिहास हेर्दा कमलमणि दिक्षित कम्युनिष्ट हैनन् । उहाँ २०१६ सालमा प्रलेसको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । धर्मराज थापा कम्युनिस्ट हैनन् । उहाँ २०१८ सालमा प्रलेसको केन्द्रीय अध्यक्ष नै हुनुभयो । त्यसकारण यो कम्युनिष्टहरूको मात्रै संगठन होइन । यथास्थितिवादभन्दा अगाडि बढ्ने सबैखाल्का विचारसमूहको मोर्चा हो प्रलेस । उनीहरू सबै प्रलेसका सदस्य हुनपाउँछन् । हामीले सबैलाई यो कुरा बुझाउन सकेनौं । यथास्थितिवादभन्दा अगाडि सोच भएका सबै साँस्कृतिक कर्मीहरूको हो भनेर बुझाउन नसकेर गल्ती भएको छ ।
कहिले यथास्थितिवादभन्दा अगाडि भन्ने कहिले द्वन्द्वात्मक एतिहासिक भौतिकवाद भन्ने । यसले अल्मल्याउँदैन ?
हैन, स्थापना कालमा जुन दृष्टिकोणले प्रलेस अगाडि बढेको थियो, त्यसरी काम गनुपर्छ भन्नेहरु पनि छन् । तर, दोस्रो सम्मेलनदेखि क्रान्तिकारी विचारधारालाई समेटेर अगाडि बढ्नुपर्छ भनियो । ऐतिहासिक द्वन्दात्मक भौतिकवादलाई स्वीकार्नेहरू रहने भन्ने उद्देश्य राखिएअनुसार अगाडि बढिरहेको छ ।
सरकारले गरेको गलत कामबारे बोल्न निकै हिम्मत गर्नुपर्छ हो प्रलेसले ?
हैन, प्रलेसले सरकारका गलत कामहरुको विरोध गर्दै आएको छ ।  लेखककलाकारहरूलाई गिरफ्तार गरेमा त्यसविरुद्ध हामी बोलिरहेका छौं ।
सरकार सम्बद्ध पार्टीअन्तर्गतको प्रलेस हो । सरकारविरुद्ध बोल्दा अप्ठेरो परेको होला नि ?
एउटा उदाहरण । कुशल बोगटी प्रलेसका केन्द्रीय सदस्य हुन् । उनलाई सरकारले गिरफ्तार गर्यौ । हाम्रै महानगरपालिकाका प्रमुखलाई हातपात गरेको उनलाई आरोप थियो । त्यसबेला प्रलेसले बोगटीको पक्षमा बोलेको छ । यस्ता थुप्रै उदाहरणहरु छन् ।
प्रलेसलाई कसरी चिन्ने ?
सामान्तवाद विरुद्ध साँस्कृतिक आन्दोलन होस् अथवा साम्राज्यवाद विरुद्धको आन्दोलन होस् । नेपालको हरेक परिवर्तनको अगुवाई प्रलेसले नै गर्दे आएको छ । लोकतान्त्रिक स्रस्टाहरूको संयुक्त मञ्चको अध्यक्ष वैराँगी काइला हुनुहुन्थ्यो । यसमा आनन्ददेव भट्टलगायतका प्रगतिवादी साहित्यकारहरुको बलियो सहभागिता थियो । नेपालमा गणतन्त्र प्राप्तिको लागि वैचारिक नेतृत्व प्रलेसले गरेको थियो । धर्मनिरपोक्ष, गणतन्त्रका पक्षमा प्रलेसले नै आवाज उठाएको हो । हामीले जनवादी सँस्कृति साहित्यको प्रचार गर्नु त छदैछ । अहिले पनि सामन्तवादी सँस्कृतिसँग लडिरहनुपरेको छ । राजा आऊ देश बचाऊ भन्नेहरु अझै छन् । साँस्कृतिक भूमण्डलीकरणको हावी त्यतिकै छ । साम्राज्यवादी सँस्कृति स्थापना गर्न ठुलठुला शक्तिहरु लागिरहेका छन् । प्रलेसका जिम्मेवार व्यक्तिहरु उनीहरुको साहित्यिक सम्मेलनमा पुगेर बोल्छन् । जानीनजानी साथीहरू फसिरहेका छन् । प्रलेस खत्तम भयो भन्नेहरु नै त्यहाँ देखिन्छ ।
राष्ट्रिय सम्मेलन आयो । सरकारले राम्रै सहयोग गर्छ होला नि ?
सरकारले इच्छुक प्रतिष्ठानलाई जति पनि सहयोग गरेको छैन । सरकारले प्रलेसलाई काम लाग्ने संस्थाको रुपमा हेर्दैन । हामीले सदस्यहरुबाटै सहयोग उठाइरहेका छौं ।
प्रलेसको प्रदेश र जिल्ला संगठनहरू कति छन् ?
१०औं राष्ट्रिय सम्मेलनमा ३० वटा जिल्ला संगठनहरूको सहभागिता थियो । अहिले प्रलेसको जिल्ला समितिहरू ५० भन्दा बढी छन् । सातैवटा प्रदेश समितिहरू छन् ।
संघीय संरचना आएपछि प्रलेसको सांगठनिक ढाँचा कस्तो छ ?
तीनतीन वर्षमा राष्ट्रिय सम्मेलन हुन्छ । प्रदेश समितिभन्दा जिल्ला समिति शक्तिशाली छ । प्रदेशभन्दा जिल्ला समितिहरु ‘पावरफुल’ हुन्छ । यसको आफ्नो अनुभव हेर्दा प्रदेशभन्दा काम गर्न जिल्लामा अलिक सजिलो भएर हो । राष्ट्रिय परिषदमा १ सय ३९ जना हुन्छन् । त्यो परिषदमा ६९ जनाको केन्द्रीय समिति र ७० जना राष्ट्रिय परिषद गरेर जम्मा १ सय ३९ जनाको सदस्य छ ।
प्रलेसमा कति वर्ष भयो तपाईंको उमेर ?
मेरो प्रलेसमा ३२ वर्षको इतिहास छ । २०४४ सालदेखि नै प्रलेससँग छु । यो नै मेरो स्कुल हो । मैले यहीँ वैचारिक कुरा सिकेँ । दोस्रो राष्ट्रिय सम्मेलनमा प्रतिनिधि थिएँ । तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रिय परिषद सदस्य भएँ । चौथो महाधिवेशन (विसं २०५४) मा गोविन्द भट्ट नेतृत्वको प्रलेसलाई मान्यता नदिने भन्दै बाहिर बस्यौं । त्यसपछि ५औं सम्मेलनदेखि सहमागी भएँ । छैटों राष्ट्रिय सम्मेलनमा केन्द्रीय कोषाध्यक्ष भएँ । सातौंमा सचिव, ९औंमा उपाध्यक्ष भएँ । र यो १०औं सम्मेलनले मलाई केन्द्रीय अध्यक्षको जिम्मा दियो ।
वैचारिक कामहरु केके गर्छ प्रलेसले ?
प्रलेसले गर्ने काम नै वैचारिक र सिर्जनात्मक हो ।
www.ehulaki.com बाट साभार