यकिना अगाधको कथाः भिखारी बुढा

कथाः

यकिना अगाध प्रकाशित मिति : शुक्र, मंसिर ६, २०७६

यकिना अगाध

टोलमा रहेको अनाथ बालबालिका गृहमा खानपिनको अभाव भयो । त्यहाँका संरक्षकहरु सहयोग संकलनको लागि घरदैलो अभियानमा निस्कियो । उनीहरु ठूलो अपेक्षासहित पहिले त उद्योगपति र व्यापारीहरुकहाँ पुगे । उनीहरुले सहयोग गर्न अस्वीकार गरे । भने कि संस्था र अफिसले विज्ञापन वाहेक चन्दासन्दा दिने नीति अवलम्बन गरेको छैन । त्यसपछि उनीहरु केही आशा लिएर घरानाहरुकहाँ पुगे । त्यहाँबाट पनि रित्तै हात फर्किए ।

उनीहरु सडक किनाराका पसलेहरुसँग हात फैलाउँदै अघि बढे । पसलेहरु कोही कोहीले सय पचासका नोटहरु दिँदै थिए । सडक छेउछाउमा रहेका पसलहरुमा हिंडिरहेको भिड देखेर एकजना भिखरी बुढो पनि त्यतातिर लाग्यो ।

‘आज के हुँदैछ छ यहाँ ?’ उसले सोध्यो ।

‘अनाथ बालगृहमा खानपिन अभाव भईरहेको छ । यसको लागि सहयोग संकलन गर्दैछौं ।’ सहयोग संकलक एकमध्येले सुनायो ।

‘मैले पनि सहयोग गर्नसक्छु ?’ त्यो भिखरी बुढाले भने ।

‘हा हा हा’ व्यापारी, उद्योगपति र घरानाहरुले रित्तै फर्काई दिएको झोक बोकेका उनीहरु भिखारी बुढाको कुरा सुनेर हाँसे ।

‘आफै त मागेर बाँचिरहेछ । उसैले सहयोग गर्ने रे ।’ केही केहीले त उसको खिसिट्युरी नै पो गर्न थाले ।

भिखारी बुढाले कुनै प्रतिक्रिया दिएनन । उ चुपचाप त्यही उभिए र सात फन्को लाएर कम्मरमा बाँधेको पटुको फुकाउन थाले । सबैलाई लाग्यो– ‘साला पागल भिखारी । केको चटक देखाउँदैछ ।’ बुढाले पटुकोको अन्तिम टुप्पोमा बाँधी राखेको पोको फुकाल्यो र त्यहाँ लुकाएर राखेको दश हजार रुपैयाँ झिकेर चन्दा संकलकहरुको झोलीमा हालिदिए ।

यो दृष्य देखेर अघि खिसिट्युरी गर्ने सबै संवेदित भए । उनीहरुले भने, ‘होईन, होईन । हामीलाई पर्दैन । तपाई आफै राख्नुस् ।’

भिखारी बुढाले भने, ‘म त एकछाक यसै मागेर खाईहाल्छु । आज हो कि भोली उमेरले पनि डाँडा काटिसक्यो । ती कलिला नानीहरुको त जीवन छ । भविष्य छ । मलाई यो पैसाको के काम ।’

यति भनेर भिखारी बुढा त्यहाँबाट ओझेल परे ।