तीन भातृ संगठनको प्रेस बक्तव्यः भारतीय पक्षले त्रूटी अबिलम्ब सच्याओस

प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

२१ कार्तिक ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्साका सम्बन्धमा गम्भीर आपत्ति जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विस्तारवादको हस्तक्षेपविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको जनाएको हो ।

‘भारतले हाम्रो देशको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका भू–भाग समेतलाई बद्नियतपूर्वक अतिक्रमण गरेर भारतीय भूमिमा देखाउने कुचेष्टा गरिएको छ,’ महासंघका कार्यवाहक अध्यक्ष जगत बहादुर सिम्खडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय मुक्ति आन्दोलनका खातिर भारतीय विस्तारवादको यसप्रकारको हस्तक्षेपविरुद्ध हाम्रो संगठन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको ध्यानाकर्षण गराउँदै भारतीय पक्षलाई दुई देशबीचको ऐतिहासिक दस्तावेज र तथ्य प्रमाणहरूको धज्जी नउडाई छिमेकी मुलुकको राष्ट्रियता र सार्वभौमिकताको उच्च सम्मान गर्न र यस गम्भीर त्रूटीलाई अबिलम्ब सच्याउन आग्रह गर्दछौं ।’

यसैगरी सत्तारुढ दल निकट अखलि नेपाल महिला संघले पनि बिहीबार नै एक प्रेस बक्तव्य जारी गर्दै अन्र्राष्ट्रिय मान्यता विपरीत कालापानी क्षेत्रलाई नयाँ नक्सामा गाभेको भन्दै निन्दा र भत्र्सना गरेको छ ।

 

संघका संयोजक अमृता थापा र सहसंयोजक सिता पौडेलले हस्ताक्षर गरेको वक्तव्यमा भारत सरकारले नेपाली भूमिबाट आफ्ना सेना र भारतको नक्साबाट नेपालको कालापानी भूभाग उस्को नक्साबाट नहटाएसम्म खबरदारी, निगरानी र आन्दोलन जारी रहने बताएको छ ।

यसैगरी राष्ट्रिय युवा संघ नेपालले पनि भारतीय विस्तारवादी नीति घोर आपत्तिजनक, निन्दनीय र आपत्तिजनक भन्दै विरोध गरेको छ ।

‘भारतीय पक्षले यसप्रकारको त्रूटी अबिलम्ब सच्याओस् भन्दै संयोजक दिपशिखा र सहसंयोजक रमेश पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा हाम्रो भूमि कदापि छाडिने छैन् ।’