‘समाजवादी यथार्थवाद : परिचय र मान्यता’ विषयक विचार गोष्ठी सम्पन्न

प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६

खोटाङको दिक्तेलमा आयोजना गरिएको समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक सङ्घ खोटाङले शनिबार आयोजना गरेको एक दिने विचार गोष्ठी सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको गोष्ठीमा ‘समाजवादी यथार्थवाद’ शीर्षकमा डाक्टर धनप्रसाद सुवेदीले लेख्नुभएको कार्यपत्रमाथि छलफल गरिएको थियो । साहित्यकार बम बानियाँले पढेर प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि वेदीकुमार राई र हेमविक्रम राईले टिप्पनी गर्नुभएको थियो ।

कार्यपत्रमा समाजवादी साहित्य के हो ?, कस्तो हुनुपर्छ ?, समाजवाद भनेको के हो ? लगायतका विषय समेटिएको थियो । पारिजात स्मृति केन्द्रका  सदस्य मातृका पोखरेलको अध्यक्षता तथा प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर जीबेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’, र दुर्गाजयन्ती राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जनवादी गायक जीवन शर्मा, उपन्यासकार सरल सहयात्री लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपन्यासकार सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’को परिचर्चा समेत गरिएको थियो । २०७५ सालमा प्रकाशित उपन्यासमाथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे र डिल्ली नाकाराले परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन  प्रसिद्ध  जनवादी गायक  जीवन शर्माको प्रस्तुति रहेको थियो  । पहिलो पटक खोटाङ आउनुभएका जनवादी गायक शर्माले सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका दर्जन बढी गीत प्रस्तुत गर्नुभएको थियो  ।

वि.सं. २०१६ चैत २६ गते बाग्लुङमा जन्मनुभएका जनवादी गायक शर्मा खोटाङ आउनुभएपछि जिल्लामा छुट्टै साँगीतिक माहोल सिर्जना भएको छ । दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा एम.ए गरेर पनि साधारण जीवन बिताइरहनुभएका जनवादी गायक शर्माले २०४७ सालमा जनसाँस्कृतिक योद्धा सम्मान पाउनुभएको थियो ।

खोटाङ, ११-१२ असोज, २०७६