ट्रेड यूनियन आन्दोलनको श्रोत मदर जोन्स-जय कार्की

इतिहास

जय कार्की प्रकाशित मिति : सोमवार, अशोज २०, २०७६

जय कार्की, उपाध्यक्ष- अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)

अमेरिकी ट्रेड यूनियन आन्दोलन, रंगविभेद, सरकारी विभेदपूर्ण नीति र सामन्तवर्गको शोषणको विरुद्धमा खरो आवाज बुलन्द गर्ने अमेरिकी ट्रेड यूनियन आन्दोलनकर्मीको नाम हो मेरी जी. ह्यारिस ।
तर ट्रेड यूनियन आन्दोलनले उनको सक्कली नामलाई नै परिवर्तन गरिदियो र उनी बन्न पुगिन मदर जोन्स(आमा जोन्स) । आमा जोन्सको जन्म सन १८३० मा आयरल्याण्डको कर्क शहरमा एउटा गरिब परिवारमा भएको थियो । उनको पुस्ता लामो समयसम्म आयरल्याण्डको स्वतन्त्रताको लागि लडेको थियो । त्यो आन्दोलनमा थुप्रै विभिन्न समूहका मानिसहहरु मारिएका थिए ।

मदर जोन्सको पिता आप्रवासी श्रमिककारुपमा सन १८३५ मा अमेरिका प्रवेश गरेका थिए भने अमेरिकामा आएर उनी रेल्वे निर्माणको कर्मचारीको रुपमा टोरन्टो क्यानडा जोडने रुटमा काम गर्नथालेका थिए ।
उनले अमेरिकी नागरिकता ग्रहण गरेपछि आफ्नो परिवारलाई अमेरिका ल्याएका थिए । मेरी ह्यारिसले अमेरिका आएपछि प्रारम्भिक तहदेखि माध्यमिक तहसम्मको शिक्षा पुरा गरेकी थिइन । उनी शिक्षक बन्ने शुरमा थिइन भने ड्रेस डिजाइनर बन्ने इच्छा पनि उनीमा थियो । तर पनि उनी टेनिसी राज्यको मेम्फिसमा शिक्षण पेसामा कार्यरत रहिन भने त्यहीं नै सन १८६१ मा फलामको मोल्डरिङ्ग यूनियनका सदस्य जर्ज जोन्ससित उनको विवाह भएको थियो ।

मदर जोन्स सन १८३०- सन १९३०

मेम्फिसमा सन १८६७ मा ज्वरो (Yellow Fever) को महामारी फैलियो । यो महामारीको चपेटामा खास गरी गरिब परिवार र मजदूरहरु परेका थिए । किनकी धनी तथा सम्पन्न घरानाका सबैजसो यो शहर छाडेर भागिसकेको थिए । स्कुल र चर्चहरु सबै बन्द थिए । पहेंलो ज्वरो रोग लागेका विरामीलाई अनुमति विना प्रवेश निषेध गरिएको थियो । गरिबहरुले नर्सको सहयोग लिनसक्दैन थिए । उनी बिरक्तिएर सो दुखद अवस्थाको बारेमा भन्छिन “सडकमा मेरो नजिकै १० जना प्लेग रोगले मरेका थिए, हाम्रो वरिपरी लाशमात्र थिए । ती लाशहरुलाई राती नै हतार हतार कुनै औपचारिक कार्यक्रम विना नै चिहानमा गाडिन्थ्यो । मेरा घरका सबै रोइरहेको र मुर्छित भएर चिच्याई रहेको सुन्थँ । एकपछि अर्को गर्दै हाम्रो चारजना छोराहरु विरामी भए र मृत्युको मुखमा परे । मैले मेरा मृत छोराहरुको साना साना शारीरलाई सफा गरें र गाडनको लागि तयार पारिदिए ।”

पुनः सो दुखद घडीको स्मरण गर्दै उनी भन्छिन “मेरो पतिलाई पनि ज्वरोले समात्यो र उनको पनि मृत्यु भयो । म एक्लै रातभरी शोकमा डुबिरहेँ रोइरहेँ । मेरो नजिक कोही आएनन । अरुका घरमा पनि मेरै घरमा जस्तै बज्रपात परेको थियो । रातदिन म मृत्युको गाडाको पहियाँको रव्यार ख्यार सुन्थें । अन्ततः यूनियनले मेरो पतिलाई गाडने काम ग¥यो । अरु विपत्तिमा परेकाहरुलाई सहायता गर्ने अनुमति मलाई दिईयो । मैले प्लेग रोगको अन्त्य नभएसम्म सहयोगीको रुपमा यो काम गरिरहेँ ।”

यो मान्छेको जात पनि कति ज्याद्रो हुँदोरहेछ, चार भाई छोरा अब उनीसित थिएनन । जीवनसाथीले आफनै काखमा प्राण त्याग गरेका थिए । तर पनि खोई त मदर जोन्सले हिम्मत हारेको ? त्यसैले लाग्छ कति धेरै सहन सक्ति भएकी आमा ? प्लेग रोगले सबैलाई एकै गाँस पा¥यो तर उनीसित प्लेगले पनि हार मान्यो ।
यति ठूलो विपत्तिमा पनि हिम्मत हारिनन् मदर जोन्सले । कामको खोजीमा उनि सिकागो शहरतिर लागिन र आफनो ड्रेस डिजाइनरको काम एकजना पार्टनरको सहयोगमा शुरु गर्न थालिन । यसै बखत उनको जीवनमा फेरी अर्को ठूलै दुर्घटना घटयो, सिकागो शहरमा लागेको भयावह आगोले उनको सपनालाई खरानी बनायो । उनको घरवास फेरी खरानीमा परिणत भयो ।
उनले अव फरक बाटो अप्नाउने शुरसार कसिन, यी दुवै ठूला विपत्तीपछि मदर जोन्सले मजदुर आन्दोलनमा हाम फालिन । सन १८९० देखि १९२० सम्म राजनैतिक रुपमा सामाजिक तथा राजनैतिक सुधारलाई अघि बढाउंदै बालश्रमको अन्त्य तथा खानी मजदुरहरुलाई एकीकृत गर्ने काममा लागिन । सन १९०५ मा अन्तर्राष्ट्रिय मजदूर संगठनको गठन गर्नमा ठूलो सहयोग गरिन । कोईला खानीमा काम गर्ने श्रमिकहरुका लागि उनि दिलोज्यानले लागिन उनिहरुका लागि सबै किसिमको जोखिमलाई मोलेर कोइला खानीमा काम गर्ने श्रमिकहरु कसैका दास होइनन, असिमित कार्य घण्टाको अन्त्य र सुरक्षित कार्यथलोको बारेमा उनको संघर्षले विराम लिएन ।

मदर जोन्सले मजदुर बस्तीहरुको महिलाहरुलाई संगठित गरेर मजदुर हितको लडाईंको एउटा सक्रिय एवं अहम हिस्सा बनाईन । उनको सवैभन्दा प्रभावकारी हतियार थियो “भाँडाकुँडा ब्रिगेड” सन १९०० मा पेन्सिलभानियाको कोइला मजदुर जब हडतालमा उत्रेका थिए, त्यतिबेला मदर जोन्सले महिलाहरुलाई संगठित गरेर हडताल भँडुवालाई अर्थात हडतालमा उत्रेका मजदुरहरुको विकल्पमा भर्ति गरिएका मजदुरहरुलाई काममा छिर्न दिएनन् । महिलाहरु खानीको गेटमा जम्मा भए र आफ्नो भाँडा ठटाउन थाले र कुचो हल्लाउँदै गद्दार मजदुरहरुका विरुद्ध यति जोडले होहल्ला गर्दै आक्रमण गर्थे, त्यो विरोधका कारण भँडुवाहरु भाग्न बाध्ये हुन्थे । मदर जोन्सले एक पत्रमा लेखेकी छन् “त्यस दिनबाट महिलाहरु दिन रात खानीमा गएर खबरदारी गर्न थाले, ताकी कम्पनीले हडताल भाँडनको लागि बाहिरबाट मजदुर ल्याउन नसकोस । हरेक दिन महिलाहरु एउटा हातमा कुचो र खाना पकाउने भाँडा बोक्थे र आर्को हातमा शलमा बेरेको साना नानीहरुलाई बोकेर खानीहरुमा जान थाले । उनीहरुले कसैलाई पनि कारखानाभित्र छिर्न दिएनन् ।”

सुति मिलहरु र कोइला खानीहरुमा बाल बालिकाहरुबाट जुन अवस्थामा काम गराइन्थ्यो, त्यो देखेर मदर जोन्स रिसले चूर हुन्थिन । बाल मजदुरहरुको अवस्थाको बारेमा आफै जानकारी लिनको लागि उनले दक्षिणको कपडा मिलहरुमा काम पनि गरिन । केसिङ्गंगटनमा १९०३ मा कपडा मिल मजदुरहरुको हडतालको लागि समर्थन जुटाउन वहाँ गएकी मदर जोन्सले त्यो समयको अनुभवको बारेमा लेखेकी छन् “हरेक दिन साना साना बालक युनियनको कार्यालयमा आउँथे । कसैको हात पेलिएको हुन्थ्यो, कसैको औंला गायब थियो, कसैको औंलाहरु काटेको हुन्थ्यो, उनीहरु आफ्नो उमेर भन्दा पनि पुड््का देखिन्थे दुब्ला पातला र सुकेनास लागेका जस्ता थिए । त्यसमध्ये थुप्रैको उमेर दश वर्ष पनि पुगेको थिएन, बाल बालिकालाई काममा लगाउन अवैध थियो ।”
बाल बालिकाको शोषण रोक्नको लागि कानुन बनाउने माग सहित फिलाडेल्फियाका बालबालिकाहरुको एउटा ठूलो जुलुशसहित राष्ट्रपति थियोडोर रुजबेल्टलाई भेटन गईन । त्यतिबेला राष्ट्रपति आफ्नो निवासमा छुट्टि मनाईरहेका थिए । राष्ट्रपतिले ती मानिसहरुसित भेटन अस्वीकार गरे तर जनताको दवावमा पेन्सिलभानियाको विधानसभालाई बाल मजदुरीको कानुनमा सुधार गर्नु प¥यो ।

मदर जोन्स शयवर्षसम्म बाँचिन र अन्तिम प्राण रहेसम्म उनी अमेरिकी मजदुरहरुको अवस्थालाई सुधार गर्ने संघर्षमा कुनै न कनै किसिमले जोडिईरहिन ।

मजदुर अधिकारको लागि निस्वार्थ ढंगले अभियान चलाएको देखेपछि मजदुरहरुले आफनो अभिभावककोरुपमा मान्न थाले । त्यसपछि उनलाई कोइलाखानीका मजदुरहरु र तिनका परिवारले माइनर्स एन्जेल अर्थात खानी मजदूरहरुको परी भनेर सम्बोधन गर्नथाले भने खानी मजदूरहरुलाई उनले मेरो सन्तान भन्न थालिन र त्यसपछि उनीले मदर जोन्सको विशेष उपाधि पाएकी थिईन । उनी एकजना करिश्मामयी योद्धा थिइन । उनी अधिकारका खातिर मजदुरहरुलाई हडतालमा उतार्न र प्रचार गर्न असाध्यै खप्पिस मानिन्थिन । उनको शारिरिक क्षमता अभुतपूर्वको किंवदन्ती जस्तो थियो । उनका विरोधीहरुले मदर जोन्सलाई अमेरिकाको सबैभन्दा खतरणाक आईमाई भनि घृणा गर्थे। उनको बारेमा अमेरिकाको सिनेट (संसद)मा समेत यो आईमाई सबै आन्दोलनकारीको हजुरआमा हो भनेर उनको निन्दा गर्नथालेपछि उनको एउटै जवाफ थियो यो भनाईप्रति महान् हजुरआमा सँधैको लागि अमर रहोस । आन्दोलनकारी मदर जोन्स महिलाहरुलाई मतदान नदिएकोमा निकै रुष्ट थिईन । महिलालाई मतदानको अधिकार दिलाउने आन्दोलनमा पनि उनले राम्रो भूमिका खेलिन । उनको एउटा नारा निकै प्रशिद्ध छ त्यो हो “मृतकहरुको लागि प्रार्थना गर, तर नारकीय जीवनबाट छुटकारा पाउँनको लागि संघर्ष गर ।”

मदर जोन्सले आपसमा जुधिरहेका मजदूरहरुलाई एकताको सूत्रमा बाँधेर औद्योगिक दासताको विरुद्धमा आन्दोलित गराई छाडिन । अमेरिकामा सन् १८७० मा बाल्टिमोर र ओहिओ रेलरोडमा गरेको हडतालमा मदर जोन्सले महत्वपूर्ण भूमिका खेलेकी थिइन । उक्त हडतालमा पिटर्सवर्घका मेयर र प्रहरीको गतिविधि दमनकारी रहेको थियो । सन १८७३ को दौरानमा मेयर आफुले गरेको अपराधिक गतिविधिहरु हडतालमा उत्रेका मजदुरहरुले गरेको भनि अपराधिको आरोप लगाई कारवाही गर्थे सो कुराको जोन्सले भण्डाफोर गरेकी थिइन ।
अमेरिकाको औद्योगिक जीवनको प्रारम्भसँगै कारखानाहरुको वृद्धि, रेलवेको वृद्धि, पूँजिको संचयसँगै मजदूर विरोधी कानुनहरुको निर्माण हुन थालेको थियो । सोसँगै हडताल हिंशामा वृद्धि हुँदै गएको थियो । कानुनहरु मजदूरको विरुद्धमा उद्योगपतिहरुको इच्छा मुताविक बनेका थिए भन्छिन मदर जोन्स । हडतालको दौरानमा मदर जोन्स पटक पटक गिरफतारीसंगै जेल जीवन विताउन बाध्ये हुन्थिन ।

जेल चलान हुँदा मजदुरहरुलाई सम्बोधन गर्दै भन्थिन “पार्करवर्गको आदेश पालना गर्ने राज्ययन्त्रलाई भत्काउनुपर्छ । संघीय न्यायधिस गुण्डा हो । तिमीहरु भोकले तडपिरहेको बेलामा उ गल्फ खेलमा व्यस्त रहन्छ । जव तिमीहरु मानवीय सेवा गरिरहेका हुन्छौ उ भने मालिकहरुको अधिकारको रक्षा गर्न लागि घुसको दलाली गरिरहेको हुन्छ ।”

मदर जोन्सको सम्मानमा जन्मभूमि आयरल्याण्डको कर्कमा स्थापित स्मारक

सन १८८० देखि मदर जोन्स सम्पूर्णरुपले मजदुर आन्दोलनमा होमिएकी थिइन । अतः उनले कम्युनिष्ट आन्दोलनमा कोशे ढुंगा सावित भएको संसार प्रशिद्ध सिकागोको १ मईको आन्दोलनलाई नजिकबाट सहभागीभई विश्लेषण गर्न पाएकी थिइन । मई महिनाको आठ घण्टे कार्यदिवसको सभामा बम झयालबाट प्रहार गरिएको थियो ।
मजदुरहरुले बम हानेका थिएनन, पूँजीपति र सिकागो ट्रिब्युनले मजदुरहरुको जायज मागलाई ध्वस्त पार्न अनेकौं षडयन्त्र रचेका थिए । त्यसमध्ये मजदूर सभामा बम फ्याँकी प्रहरीलाई मार्ने काम पनि पूँजीपतिहरुबाटै भएको थियो ।
मजदूर दमन गर्न कुख्यात प्रहरी इन्सपेक्टर जोन बोन फिल्डले मजदूरहरुलाई कुटपिट गर्ने, यातना दिने अनेकौं झुठा मुद्दा, लान्छना लगाउने र अप्रवासीहरुको आन्दोलन भनि अमेरिकीलाई भडकाएर आन्दोलन असफल पार्ने जस्तोसुकै षडयन्त्र गर्न खप्पिस थियो भनि सिकागोमा भएको मजदुर हत्याको भण्डाफोर गरेकी थिईन ।

मदर जोन्स अहिले पनि मजदुर आन्दोलनको अग्रपंक्तिको हिरो सावित भएकी छन । उनको जीवन र आन्दोलनका विषयमा कैयौं पुस्तकहरु प्रकाशित भएका छन । अझै पनि क्रान्तिकारी मजदुर आन्दोलनको प्रेरणादायी श्रोत बनेकी छन मदर जोन्स । ट्रेड युनियनकर्मीहरुले प्रतिकृयावादीहरुका विरुद्ध जहिले पनि निडर भएर आन्दोलन गरेनन भने अधिकार पाउन सक्तैनन भन्ने उनको मूल सिद्धान्त रहि आएको छ ।

उनको देहान्त मेरील्याण्डको स्प्रिङटनमा सन १९३० को नोभेम्बर महिनामा १०० वर्षको उमेरमा भएको थियो । उनको पार्थिव शरीरलाई हडतालको दौरानमा दमन गरि मारिएका खानी मजदुरहरुको स्मारकसंगै इलिनोईसको माउन्ट अलिभमा गाडिएको थियो । खानी मजदुरहरुले १६००० डलरमा असी टन ग्रनाईट सहितको २० फिट उचाइको पित्तलको सालिक स्थापना गरेका छन । त्यसैगरी आयरल्यण्डमा पनि मजदुरहरुको अधिकारको प्रतिमुर्तिकारुपमा उनको सालिक स्थापना गरिएको छ । सो स्तम्भलाई दुईजना खानी मजदुरले सुरक्षा दिईरहेको जसरी दुई तिर उभिईरहेको देखिन्छ ।

मदर जोन्सको  स्मारक, इलिनोईसको माउन्ट अलिभ

सन १९३६ को अक्टुबर ११ का दिन ५० हजार मानिस मदर जोन्सको नबनिर्मित स्मारक हेर्न आएका थिए सो दिनलाई खानी मजदुर दिवस भनि उत्सव मनाउने गरिएकोमा त्यसै दिनलाई मदर जोन्स स्मृति दिवसका रुपमा भब्यरुपमा माउण्ट अलिभमा मनाउने गरिएको छ । मदर जोन्सप्रति श्रद्धान्जलि ।
समाप्त

असोज २०, २०७६
जोरपाटी, काठमाण्डौ, नेपाल