साइरन, सुईरो र सुस्केराहरू- नीरा सुब्बा नेचाली

कविता

प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६

एकाबिहानै
मन्दिरको घण्टी र चियागोदामका साईरन माझ होडबाजी चल्छ ।
चियाश्रमिक हतार हतार आफ्नु मुख भिजाई,
आफनु इष्टदेवलाई सम्झी धूप बाल्दो हो प्रार्थाना समेत भूल्दै
अनि लाग्दो हो ओह्रालो त कतै उकालो कमानतिर
आफ्नु खाजा,थुम्चे, गमबुट र वर्षाती सम्हालदै ।

दुईपात एकसुईरो पनि पर्खदा हुन्
उनीहरूलाई सुमसुमाउने हातहरू चिसो वताससगैं उच्छ्वास लिदैं ।
महसूस गर्दा हुन् ती कोमल हातहरू कठोर हुदै गएको ।
देख्दा हुन् ती हिउँदमा कलम छटाई गरिएका पोथ्राहरूले
ती कलिला मुहारहरूलाई विस्तारै निल्दै गएका काला चाँयाहरूले ।

वर्षाकालमा पखालिएका चियाका छिप्पिएका पातहरूले देख्दा हुन्
ती मुहारमा थपिदैं गएका उमेरका धर्षाहरू ।
चियाफूलले सोच्दों हो
जसरी सुगन्धले उसलाई उछिनेको ओझेल राखेको छ
उसरी नै श्रमिकहरूका भाग्यलाई पनि बन्धकी बनाईएको छ
शोषकवर्गबाट ।

बरा ! श्रमिकहरू आफनु थाक लागेका ती सपनाहरू
हेर्दै सुन टिप्छन् बुच्चे कान छाम्दै ।
कस्तुरी झैं सुगन्ध फैलिएका चियाबारीभित्र
पसीना सराबोर उनीहरूबाट टाढा छन्
आफ्नो भविश्य र चाहनाहरू ।
साथमा छन् त केवल
सपना, सुईरो, सुस्केरा अनि साइरनका
चर्का आवाजहरू ।

 

कवियत्री नीरा सुब्बा

कवियत्री नीरा सुब्बाका थुप्रै हाईकु, कविताहरु विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा प्रकाशित भैरहेका छन । चिया बगानमा कार्यरत श्रमिकहरुको व्यथाका विषयमा सिर्जना गरिएको पछिल्लो कविता हो । उहाँ दार्जिलिङ निवासी हुनुहुन्छ ।