रिक्तता अनि दशैं- सान्ज घले

कविता

सान्ज घले प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६

आमा

छाएन मनमा कुनै उत्साह
संघारमा उभिएको दशैंको स्वागतमा
एउटा रिक्तता-बोधले
छातीको देब्रे पाटो भित्र उब्जिएको पीडा
मस्तिष्क भित्र सलबलाई रहेको यादहरुको
मल्हम बनी छोप्ने निरर्थक प्रयास
कहिलेसम्म जारी रहने यो क्रम?
निरुत्तरित म

दशैंको हावाको सुवासभित्र
आमाको देहको बास्ना महसुस गर्दै
हेर्दै होलिन आमा
बादल पारीको देशबाट
उनि बिना हाम्रो
अनवरत चलीरहेको जीवन-चक्र
असमर्थ छु म यहाँ धराबाट
एक ढिक्का भएर जमेको
बिछोडको पीडाको मुहान फुटाएर देखाउन

हरेक पटक दशैंको आगमनमा
मनको कुना-काप्चासंगसंगै
सिङ्गो घरले आमालाई खोज्दा
निर्लज्ज, क्रूर, कुरुप ‘मृत्यु’ को
अट्टहासले फेरि गिज्जायो
शाश्वत-सत्य हो ‘मृत्यु’ – स्वीकार्न
वर्षभरी जगेर्ना गरेको मनोबल
विलीन हुँदै छ

उत्सवको हावासंग ठोक्किएर
आमाको हातको स्पर्श बिना
सक्दैन दशैंले उमार्नु
खुशी यो निधारमा