गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलंकी सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन

प्रकाशित मिति : शनि, अशोज ११, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलंकी सडकखण्डमा भइरहेको सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

दशैको मुखमा ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महसुस हुनेगरी जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिनु भएको हो ।

अहिले धादिङबाट काठमाडौं आउने बाटोमा करिव ७ देखी १० घण्टासम्म जाम हुने गरेको छ । उहाले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला तथा मालबाहक सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन, आवश्यक क्रेनको व्यवस्था मिलाउन समेत भन्नु भएको छ ।

यसैविच, आइतवारबाट १० पाग्रें सवारी साधानलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । सो गाडीका कारण बाटो अत्याधिक जाम हुने गरेका कारण रोक लगाइएको बताइएको छ ।