दशैँको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कडा कारबाही हुन्छ:आपूर्तिमन्त्री यादव

प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइ रहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गरे।

दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ । मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्र्याइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताए।

उनले विगतका वर्षहरूभन्दा यस वर्ष बजार अनुगमन झनै तीव्र बनाइएको दाबी गरे। उनले भने, ‘अनुगमनको परम्परागत शैली परिवर्तन भएको छ, संयन्त्र सक्रिय छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ।