कविता: आँधी नबनेसम्म

यकिना अगाध प्रकाशित मिति : मङ्लबार, भदौ ३१, २०७६

म त
बतास न हुँ
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी ।

तिमीले
बन्द कोठामा कैद गर्नसक्छौ
साह्रै रिस उठयो भने
एकछिन
आफनै मुटुलाई पनि रोकेर
धडकनलाई नचलाई राख्नसक्छौ
या
मनखुशी भएको बेला
खुल्लाम खुल्ला चौरमा छाडन सक्छौ
आनन्दले स्वास लिएर
हाँस्न सक्छौ
नाच्न सक्छौ
बाँच्न सक्छौ । ।

म त
बतास न हुँ
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी ।

जब सीमा नाघ्नेछ तिम्रो अत्याचारले
र आँधी बन्ने छु म
त्यस दिन भने
सतहमुनि लुकेको समुन्द्रलाई पनि
सजिलै पछार्न सक्छु सतहमा ल्याएर
सगरमाथालाई नै कुल्चेर
दम्भले फुलेको हिउँलाई पनि
कुचोले जसरी नै
सजिलै बढार्न सक्छु फू.. गरेर
आकाशलाई नै छेकेर
बिजुली चम्काउँदै
चटयाङ बर्साउन तैयार बादललाई पनि
सजिलै धपाउन सकिन्छ माईलौ टाढा ।

म त
बतास न हु
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी
आँधी नबनेसम्म…. ।