किमाथांका सडकखण्डको चट्टानी खण्डको ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनालाई

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

काठमाडाैं । सरकारले बहुप्रतिक्षित खाँदबारी, किमाथांका सडकखण्डको चट्टानी खण्डको ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।

मन्त्रिपरिषद्को हाैकाे बैठकले बाँकी रहेकाे १४ किलोमिटर सडकको चट्टानी खण्डको काम सेनामार्फत गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञचार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा जनाए।

विराटनगर–किमाथांका सडकको लम्बाइ ३ सय ६२ किलोमिटर हो । खाँदबारी–किमाथांका १ सय ६२ किलोमिटर ट्रयाक निर्माण गर्ने जिम्मा पनि सेनाले नै पाएकाे थियाे।

सडक निर्माण सुरु भएको १० बर्षपछि यो सडक चीनसँग जोडिन लागेको हो । चीनको सिमाना किमाथांका जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ ।

यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । सडक निर्माणको काम आर्थिक वर्ष २०६५/०६६ देखि सुरु भएको थियो ।