मजदुरका प्रश्न- यातायात क्षेत्र कसले अस्तब्यस्त पारेको व्यवसायी स्वयमले की सरकारले ?

अखिलको नारा, नम्र,शिष्ट,सव्य र स्वाभिमान सचेत मजदुर निर्माण गर्ने हाम्रो अभियान

डि आर आचार्य प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

काठमाण्डौ । यातायात क्षेत्रका बेथितिमाथि उठ्ने प्रश्नको सधैं सामना गर्न विवश मजदुरहरुले बिहीबार व्यवसायी र सरकारमाथि अनेकौं प्रश्न तेर्स्याएका छन् । राजधानीमा आयोजित ‘सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन, यात्रुमैत्री व्यवहार र सडक सभ्यता’ विषयक कार्यक्रममा मजदुर नेताहरुले लगातार प्रश्न गर्दा कार्यक्रम स्थलमा तालीको पर्रा छुटिरह्यो ।

आयोजक अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङले श्रमिकमाथि एकोहोरो आक्षेप लगाउनेहरुलाई सम्झन आग्रह गरे । ‘हामी आफ्ना गल्ती ढाकछोप गर्न अरुमाथि दोष थोपरिरहेका छौं कि !’ उनले प्रश्न गरे, ‘यातायात क्षेत्र कसले ध्वस्त पारेको ? दलाल जन्माएको कसले ? मजदुरले कि व्यवसायीले कि सरकारले ?’

‘मजदुरलाई यात्रुका झोला तानेको, यात्रु धेरै बटुल्न बाध्य पारेको कसले ?’ उनको अर्को प्रश्न थियो, ‘गलत सिस्टमको विकास कसले गरायो ? खान पुग्ने तलब दिने हो भने के मजदुरलाई सडकमा गाली खाँदै यात्रु तान्दै हिँड्न कुनै रहर हुन्छ ?’

कम्पनी नयाँ र मजदुर पुराना हुँदा समस्या भएको भन्दै उनले जसरी समितिको सम्पत्ति कम्पनीमा आयो, त्यसैगरी यातायात मजदुरको विगतको कार्यानुभव र सेवा अवधिको हिसाब राखिनुपर्ने उनको माग छ । २०४८ सालमा बनेको श्रम ऐन यातायात क्षेत्रमा अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनले आक्रोश पोखे । ‘यातायात श्रमिकलाई नियुक्ति पत्र दिनु पर्दैन ?’ उनको अर्को प्रश्नले कार्यक्रम स्थल झन् तात्यो, ‘श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने व्यवसायी अपराधी हुन् कि होइनन् ? राज्यका कानुन कार्यान्वयन नगरिनु अपराध होइन ?’

 

धारणा राख्दै सोम तामाङ ।
एउटा मजदुरले कहिल्यै शान्तसँग चाडपर्वसमेत मान्न नपाउने अध्यक्ष तामाङको दुखेसो थियो । कम्पनी भएपछि देशभरका सबै कम्पनीप्रति सरकारको समान व्यवहार र दृष्टिकोण हुनुपर्ने उनले बताए । ‘गोल्छा अर्गनाइजेसनले जसरी मजदुर पालेको छ, यातायात क्षेत्रका मजदुर पनि त्यसरी नै पालिनु पर्दैन ?’ उनले प्रश्न गरे, ‘के यातायात मजदुरलाई पनि त्यस्ता कम्पनीका मजदुरको जस्तै हैसियत बनाइदिन यातायात व्यवसायी तयार छन् ?’ मजदुरसँगै यातायात व्यवसायी, सरकार र जनता पनि सभ्य भएमात्र यातायात क्षेत्रमा देखिने गरी परिवर्तन आउने अध्यक्ष तामाङको भनाइ छ । यी सबै समस्या समाधानका लागि नै मजदुरहरुले यातायात प्राधिकरण गठनको माग उठाएको उनले स्पष्ट पारे ।

कार्यक्रममा संघका उपाध्यक्ष एवं प्रदेश ३ का अध्यक्ष दिपक केसीले कसैले केही नसिकाई यातायात मजदुरहरुले उत्कृष्ट सेवा दिनु सराहनीय रहेको बताए । ‘यातायात मजदुरलाई कहिल्यै प्रशिक्षण दिइँदैन, व्यवसायीलाई भने त्यत्तिकै इजाजत दिइन्छ,’ उनले प्रश्न गरे, ‘कसैले केही नसिकाई यातायात मजदुरले यतिको सेवा दिनुलाई सामान्य भन्न सकिन्छ ?’

यातायात मजदुरलाई कस्तो सेवा दिने ? कसरी सेवा दिने ? यात्रुसँग कस्तो व्यवहार गर्ने ? जस्ता कुरा मजदुरलाई व्यवसायीले नसिकाएका कारण मजदुरले जस्तो जान्यो त्यस्तै गरेको उनको प्रस्टोक्ति छ । ‘बस स्ट्यान्ड नभएपछि सडकमा गएर यात्रु नबोलाए के गर्ने ?’ केसीले प्रश्न गरे, ‘सबै भद्रगोल भएकाले अलमलिएका यात्रुलाई टिकट काउन्टर देखाउने दायित्व पनि यातायात मजदुरको होइन र ?’

अर्का मजदुर नेता अखिल नेपाल ट्रेड युनियन महासंघका ३ नम्बर प्रदेश उपाध्यक्ष तथा सामाजिक सुरक्षा कोषका प्रशिक्षक रामचन्द्र कार्कीले यातायात क्षेत्रमा चरम बेथिति र अराजकता बढेकै कारण राम्रा चालक बाहिरिनुपरेको गुनासो गरे । ‘यातायात क्षेत्रमा श्रमिककै लगानी छ तर यही क्षेत्रमा श्रमिकका सामाजिक सुरक्षा दयनीय छ,’ मञ्चमा आसिन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जितबहादुर भारती एवं महासचिव सरोज सिटौलालाई उनले प्रश्न गरे, ‘अहिलेसम्म कति वटा यातायात कम्पनीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुभयो ?’

सधैं यात्रुको सुरक्षाका प्रश्न गम्भीर ढंगले उठाइने तर मजदुर सुरक्षालाई गौण ठानिनु दुर्भाग्यपूर्ण रहेको कार्कीको भनाइ छ । ‘दैनिक गाडीमा हिँड्नुपर्ने मजदुरको जोखिम सुरक्षाका कुरा कहिल्यै गरिँदैन,’ उनले गुनासो गरे, ‘हजारौं मजदुर अपांग र अंगभंग भएर बाँच्न विवश छन्, त्यति जोखिमपूर्ण क्षेत्रमा कार्यरत मजदुरको सामाजिक सुरक्षा कति महत्वपूर्ण होला तर यसबारे कसैले बोल्दैन ।’

महासंघका महासचिव सरोज सिटौलाले सबै क्षेत्रबाट पीडित बनाइएको यातायात क्षेत्रलाई माथि उठाउन यातायात व्यवसायी र मजदुर नै लागिपर्नुपर्ने बताए । टिकट काउन्टरमा बस्ने कर्मचारीले अब अनिवार्य पोसाक लगाउनुपर्ने उनले जानकारी गराए । ‘पोसाक नलगाई कोही काउन्टरमा नबसौं, यात्रुले पनि ड्रेस नलगाएकासँग टिक नलिउन्,’ उनले भने, ‘यातायात क्षेत्रलाई शिष्ट र सभ्य बनाउन हामी आफैं जुट्नुको विकल्प छैन ।’ कार्यक्रममा टिकट बुकिङ काउन्टरमा कार्यरत कर्मचारीलाई पोसाक वितरण पनि गरिएको छ ।

दसैंमा काठमाडौंबाट फर्किने यात्रुलाई सकुशल घर पुर्‍याउने जिम्मा यातायात व्यवसायीकै भएको भन्दै उनले कुनै पनि भ्रामक कुराको पछि नलाग्ने उनले आग्रह गरे । ‘२०६९ सालदेखि भाडा समायोजन नभएकाले गरौं भनेको मात्र हो,’ महासचिव सिटौलाले भने, ‘समायोजन भए हुन्छ, नभए हुँदैन तर हामीसँग भएको स्रोत साधनको उच्चतम उपयोग गरी तपाईंहरुलाई घर पुर्‍याउने जिम्मा हामी पूरा गर्छौं ।’ देशभरका सडक वर्षातका कारण बिग्रिएकाले सडक विभागलगायत सरोकारवाला निकायले युद्धस्तरमा सडक मर्मत गरिदिन उनले आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले यात्रुले अनुभूत गर्ने गरी परिवर्तन ल्याउनु अहिलेको आवश्यकता भएको बताए । ‘हामी सबै पक्षसँग सहकार्य गर्न तयार छौं,’ उनले भने, ‘तर सहकार्यका नाममा नियम मिच्ने काम नहोस्, ट्राफिक प्रहरीले विनम्रता साथ नियममा कडाइ गर्छ ।’ महाशाखाले सिंहदरबारभित्रै बाट सवारी चालकलाई चेतना र अनुशासन अनुशिक्षण सुरु गर्न लागेको उनले जानकारी गराए ।

त्यस्तै काठमाडौंको प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यति महत्वपूर्ण कार्यक्रममा यातायात व्यवस्था विभाग र सडक विभागका प्रतिनिधि बोलाएर पनि नआउनु गलत भएको बताए । ‘यातायात क्षेत्र समस्या निराकरणका लागि सम्बन्धित निकायले यस्ता कार्यक्रममा अनिवार्य सहभागिता जनाउनुपर्छ,’ उनले भने ।

यातायात कर्मचारीलाई पोसाक लगाउन उनले अभिप्रेरित पनि गरेका छन् । ‘युनिफर्म भनेको शक्ति पनि हो पहिचान पनि हो,’ आफ्नो बर्दीको महत्व प्रस्ट पार्दै उनले भने, ‘यातायात कर्मचारी पनि युनिफर्म लगाएर चिटिक्क परेर बस्ने हो भने प्रहरी र बाहिरका व्यक्तिले पनि कठालो समाउनुअघि ३ पटक सोच्न बाध्य हुन्छन् ।’ युनिफर्मले स्वअनुशासन पनि सिकाउने उनको भनाइ छ ।

कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुरलाई सचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक एलिजा गिरी र महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक सुरेश ठाकुरले प्रस्तुतीकरण दिएका छन् । डि आर आचार्य