नेपालको विकासमा सदावहार सहयोग गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो कन्फ्र्रेन्समार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरेका छन । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताएका छन ।

दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’

छिट्टै नेपाल आउन चाहन्छु

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन पनि दिएका छन । ‘छिट्टै नेपाल आउने प्रयास गर्नेछु, उनले भने ।

उनले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा गरेका छन ।