अबको ३० वर्षमा सँसारका सबै जसो मानिसहरुसँग इन्टरनेट

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

काठमाडौ । अबको ३० वर्षमा सँसारका सबै जसो मानिसहरुसँग इन्टरनेटमा सहज पहुँच हुनेछ। स्वचालित कार लगायतका सवारी साधन हुनेछ। प्रतिघन्टा तीन हजार किलोमिटरको गतिमा गुड्न सक्ने हवाइजहाज हुनेछ। यात्रा यति छिटो हुनेछ कि अहिले भन्दा यात्राको समय तीन गुणाले घट्नेछ।

सँसारको जनसंख्या १० अर्ब पुग्नेछ। सात अर्बबाट १० अर्ब पुग्दा पानी र खाद्यान्नको संकट आउने छ। सबै भन्दा पानीको संकट मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिण एशियामा पर्नेछ। इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका अनुसार दुई अर्ब मानिसहरुले अत्याधिक पानीको अभावमा जिउनु पर्नेछ। एमआइटी अध्ययनकर्ताका अनुसार पाँच अर्ब मानिसहरु बसेको स्थानमा पानी अभाव हुनेछ।

खाद्यान्न अभावले एक करोड भन्दा बढी मानिसहरु भोकै पर्नेछन्। समुन्द्रमा धेरै प्रजातिका माछा लोप हुने छन्। यसले तीन अर्ब मानिसहरुको खानामा असर पर्नेछ। जनसंख्या तीन अर्ब बढ्दा गहुँ, मकैं, जौं र धान जस्ता बालीको उत्पादन १० प्रतिशतले घट्नेछ। जबकि अहिले ती उत्पादनको माग भन्दा सन् २०५० मा १४ प्रतिशतले माग बढ्नेछ। खाद्यान्नको मूल्य दोब्बर भइ सक्नेछ।

जङ्गल फडानी, जथाभावी वस्ती जस्ता समस्याले कृषियोग्य जमिन नाश हुँदै जानेछ। इन्टरनेशनल जर्नल अफ क्लाइमेटोलोजिका अनुसार सँसारका आधा वर्षात् जङ्गलहरु फडानी हुने छन्। ऊर्जाको संकट पर्नेछ। अहिले भन्दा दोब्बर ऊर्जाको माग हुनेछ। जसका कारण तेलको मूल्य दोब्बर हुनेछ।

एन्डिबाइओटिकको प्रयोग अत्याधिक हुनेछ। मानिस र विरुवा दुवैमा एन्डिबाइओटिकको अत्याधिक प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। डंगु, मलेरिया, इन्सेफेलाइटिस, काला ज्वर, हैजा जस्ता रोग डरलाग्दो भइ फैलनेछ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०५० मा पागलपलन अहिले भन्दा तीन गुणा बढ्नेछ।

अहिले विश्वको आधा जनसंख्या शहरमा बस्न थालेका छन्। सन् २०५० मा दुई तिहाई जनसंख्या शहरमा बस्न थाल्ने छन्। शहरले चार भागको तीन भाग ऊर्जा खपत गर्नेछ भने त्यतिनै कार्बनजन्य पद्धार्थ उत्पादन गर्नेछ। नयाँ नयाँ रोग समस्या बन्नेछ। प्रदूषणका कारण स्वास प्रस्वासको रोग बढ्नेछ। सबै भन्दा चुनौती मानसिक रोगको हुनेछ। मानसिक रोगीहरु दोब्बर बढ्ने छन्।

प्राविधिक रुपमा सँसारले ठूलो फड्को मारेपनि मानवता कमजोर हुँदै जानेछ। सँसारमा नैतिक मूल्य मान्यताको खडेरी पर्नेछ। अपराधका घटना बढ्नेछ। मानिसका लागि मानिस नै खतरनाक हुनेछ। युद्धको सम्भावना उत्तिकै बढी हुनेछ।

जलवायु परिवर्तनले सँसारको तापक्रम बढ्नेछ। समुन्द्री सतह तीन फिटसम्म बढेर कतिपय टापुहरु डुब्नेछन्। मालदिभ्सको अस्तित्व संकटमा पर्नेछ। मुम्बई र न्युयोर्क जस्ता शहरका समुन्द्री किनारका भाग डुब्नेछन् । तापक्रम बढ्न गई आँधीहुरीको प्रकोप बढ्नेछ। बाढी पहिरोको प्रकोप बढ्नेछ।

अपराधका घटना बढ्नेछ। इन्टरनेटको बढ्दो प्रयोगले साइबर अपराध र साइबर हमलामा व्यापक वृद्धि हुनेछ। व्यक्तिगत स्वतन्त्रताको चाहना बढेपछि स्वतन्त्रता कमजोर हुनेछ। मानिसहरु रोजगारीको अभााव, बढ्दो प्रतिष्पर्धा र खाद्यान्न अभावका कारण स्वार्थी हुने छन्।

अन्तमा : समय अविरल छ । मानिस होस् या भगवान समय सबै भन्दा बलवान। समयले मानिसको उत्पत्ति मात्र गराएन विकासको उचाईमा पुर्यायो । मानिसले बुद्धि र विवेकले आफूलाई यो भौतिक विकासको उचाईमा पुर्याए पनि मानिस विनाशको मार्ग आफै कोर्दैछ। त्यसैले समयमै सतर्कता नपआउने हो भने सँसारमा मानिसले निकै भयावह चुनौतीको सामना गर्नु पर्नेछ ।