तिजको सान्दर्भिकता र ध्यान दिनुपर्ने मुख्य विषय ?

मोहन अधिकारी प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

तिज कार्यक्रममा सहभागी होटल श्रमिक महिलाहरु 

तिज पर्वमा महिलाहरू माईत जाने चलन कसरी सुरु भयो र ? आज यो पर्वमा आएको परिवर्तन तपाईलाई कस्तो लाग्छ ? यो चाड मनाउँदा महिलाहरूले कुन कुरामा सचेत हुन आवश्यक छ ? यही सेरोफेरोमा मेरो विचार प्रवाह बग्नेछ।
आदरणीय महिला तथा पुरुष मित्रहरू ! हाम्रा बाबाआमाले भन्नुहुन्थ्यो, उहिले धार्मिक युग थियो अहिले पापीयुग आयो। तर म यस मानेमा भने पटक्कै मान्दिन, म भन्छु उहिले पापीयुग थियो किनकी उहिले छोरी बुहारीलाई असाध्यै हेलाहोचो गरिन्थ्यो । उनीहरूको शारिरीक, मानसिक, वौद्धिक सबैखाले शोषण हुँदापनि चुँ सम्म बोल्ने न त अधिकार थियो न त साहस नै।
नढाँटी सत्य भन्नुपर्दा हामी गोर्खाजातिमा चाँही अन्य परिवारमा भन्दा बढी यो अत्याचार विशेषत क्षेत्री र ब्राह्मण परिवारमा बढी थियो।
राती नै उठेर पँधेरामा पानी भर्न जानु,घर लिपपोत गर्नु,घाँस दाउरामा जानु,घरमा खाना बनाउनु,जुठो चुल्हो गर्नुपुगे -उव्रिए खानु नत्र भोकै भएपनि खाना वनाएर खान नपाउनु,सासुको खुट्टामा तेल लाउनु, लोग्नेको टहलगर्नु र यति गर्दापनि एउटी दासीको जस्तो निरस जीवन जिउनु त्यो बेलाकी वुहारिको धर्म भनौं या बाध्यता थियो।
यसरी सानो गट्टी खेलेर रमाउने उमेरमै बुहार्तनको कठोर पंजाभित्र जकेडिएका आफ्ना छोरी वहिनीलाई एकछाक भएपनि बाबुआमाका काखमा बसेर मिठो मसिनो ख्वाउनकै लागि तिजको वेलामा दरखान लैजाने र भोलीपल्टको पतिको दीर्घायूको कामना गर्दै पानीपनि नखाई बसिने व्रतमा उनीहरूले भोकै मर्नु नपरोस भनेर माईतिले दर ख्वाउन लैजाने चलन चलेको हो।
आजका नारीलाई माईत जान तिजको जरुरत छैन जहिलेसुकै गएकै छन। तसर्थ तिजलाई हर्षोल्लासले घरमै पनि मनाउन सकिन्छ, माईतै पुग्न जरुरी छैन।
आजको सानो परिवारमा श्रीमति माईत जाँदा श्रीमान र नानी केटाकेटीलाई भने व्यवहारिक असुविधा परेको पनि प्रशश्तै देखिन्छ। आजको युगलाई वुढापाकाबाट यदाकदा नराम्रो भनिएपनि महिला उन्मुक्ति, स्वतंन्त्रताका क्षेत्रमा धार्मिक युग शुरु भएको छ। केही अपवाद छोडेर आज न पँधेरा जानुपर्छ, न दाउरा खोज्नुपर्छ, न आजका बुहारीले बुहार्तन खपेर भोकै सुत्नुपर्छ, न त मिठो खान सासुको कृपा बर्सिनै पर्छ, न त तिजौरिको साँचो सासुबाट हातपार्नुपर्छ, आज त बुहारी घरकी छोरीभन्दा प्याराछन, हकदार छन। शिक्षा आर्जन देखिलिएर हरेक क्षेत्रमा महिलाहरू पुरूषभन्दा बढी आरक्षित सुखि र आरामदायीपनि छन।

मोहन अधिकारी

आज उनीहरू दाशीको रुपमा होईन सम्मानित सहकर्मिको रुपमा उभिएका छन।हिजो एउटै पुरूषले दशवटीसम्म सौता थुपारेर नारीमाथि थिचोमिचो गर्थ्यो,यीनै अत्याचारी पुरुषको मृत्यु हुँदा ईच्छा नहुँदा नहुँदै पनि सती भएर जवरजस्ती मृतलोग्नेसँगै चितामा जल्नुपर्थ्यो। आफ्नो मृत्युपछि आफ्ना स्वास्नीहरूलाई अरुले नलैजाउन भोग्य नवनाउन भन्ने कुत्सित स्वार्थ नै यसको मुख्य कारण थियो।
यसरी हेर्दा म आजको युगलाई धार्मिक युग र सत्ययुग,सभ्य युग भन्छु। आजभोली तिजलाई मनाउने तरिका धेरै फरक छ । हिजो भएका अन्याय अत्याचार, आज वर्तमानमा नारीले भोग्नुपरेका समस्याहरू जस्ता विषयमा र नारी उन्मुक्तिका विषयमा मिठामिठा गित गाँउदै नाच्दै नारी चेतनाका क्षेत्रमा अझै जागरुकता ल्याउने लक्ष राखिएको पाईन्छ, साथ साथै यसमा विकृति,विसंगतिले पनि जरा गाडदै पाश्चात्य नांगो सँस्कृतितिर केही नारीहरू आकृष्ट भएको, आफ्नो सँस्कृति विपरितका नाचगान र पोशाक पहिरिएको पनि देखिन थालेको छ।
यसले भोलीका दिनमा हाम्रा आजका कलिला नानीहरूको मस्तिष्कमा कस्तो असर पार्ला रु हाम्रो साँस्कृतिक धरातलमा कस्तो विनाशकारी पहिरो जाला रु हाम्रा पुजनिय नारीहरूलाई हेर्ने सम्मानित दृष्टिकोणमा कतै लज्जित हुनु नपरोस, तिजको चाडको महिमा घटेर एउटा सँस्कृतिमै कालो धब्बा लाग्ने संभावना नहोस भन्ने विषयमा आजका नारीहरूले समयमै सचेत हुनुपनि जरुरी छ । नारी हाम्रा ईज्जत हुन, नारी हाम्रा गहना हुन, नारी समाजका गौरव हुन, नारी सामाजिक आस्थाका केन्द्रविन्दु हुन !

सिलीगुढी भारत

Photo: Jb karki