अ.ने.ढुवानी मजदुर संघको संगठनात्मक तथा वैचारिक प्रशिक्षण भव्यतापूर्वक सम्पन्न

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

जुझारु संगठन अखिल नेपाल ढुवानी मजदुर संघको विभिन्न सेक्टरमध्ये मार्बल क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठनात्मक तथा वैचारिक प्रशिक्षण हिजो शनिवार भव्यतापूर्वक सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई अन्टुफका उपाध्यक्ष जय कार्की, सम्बद्ध परिषदका इन्चार्ज तथा अन्टुफका सचिव सोमबहादुर तामाङ, अन्टुफका कानुनी सल्लाहकार युवराज लुईटेल लगायतले श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७४, टे«ड युनियन ऐन संसोधन तथा अन्टुफ जिफन्ट महासंघको एकता र संगठन सुदृढिकरणका विषयमा प्रशिक्षित गर्नुभएको थियो ।
मार्बल ढुवानी क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा झण्डै ३०० जना श्रमिकहरुको उपस्थिति रहेको थियो ।
अन्टुफको नेतृत्व परिवर्तनसंगै पेसागत संगठनहरुको गतिविधिमा ह्वात्तै बृद्धि भएको छ । सबै संगठनहरु निकै चलायमान भएका छन यसका खास कारण महासंघहरुवीचको एकताले थपेका हौसला हो भने अर्कोतिर सामाजिक सुरक्षा योजनामा सुचिकृत हुने आकाँक्षा र हतारोले ठूलो काम गरेको छ ।


अ.ने.ढुवानी मजदुर संघका अध्यक्ष चक्रबहादुर ठकुरीले आजको यस कार्यक्रममा सयौं ढुवानी मजदुरहरुलाई संगठनको परिचय पत्र वितरण गर्नुकासाथै सरकारी आधिकारिक परिचयपत्र र सहकारी पनि खोल्न पाउँनु पर्छ भनि माग गरेका छन ।
परिषद इन्चार्ज सोमबहादुर तामाङले जति सुदृढ संगठन त्यति नै धेरै अधिकार प्राप्त हुने कुरा वताउँदै ढुवानी मजदुरहरुको अधिकार प्राप्तिको लागि जस्तोसुकै कठिन परिस्थितिसित पनि जुझन तयार रहेको वताउनु भएको छ भने श्रम ऐनमा मजदुर कटौति सम्बन्धि दफालाई संशोधन गर्नुपर्छ त्यो भन्दा बाहेक सबैको कार्यन्वयन गर्न निरन्तररुपमा संगठनहरु लाग्नुपर्छ, सामाजिक सुरक्षा योजनामा सबै मजदुरहरु समेटिनुपर्छ भनि प्रशिक्षण दिनु भयो कानुनी सल्लाहकार युवराज लुईटेलले ।


अन्टुफ उपाध्यक्ष जय कार्कीले मजदुर संगठनहरुले अब कार्य योजना सहित क्रान्तिकारी धारको रक्षा र विकासकालागि बर्तमान परिस्थितिको विश्लेषण सहित नयाँ कार्यक्रम लिएर आउने विषयमा तर्कपूर्ण छलफल र बहश भैरहेको बताउँदै फासिष्ट सैलीमा मजदुर कटौति गर्ने दफा १४५ लगायतका मजदुरको विपक्षमा रहेको श्रम ऐनको दफाहरुको संशोधनका लागि अब सबै महासंघहरुले साझा कार्यक्रम ल्याउनु पर्छ भन्नु भयो ।
कार्यक्रमको अध्यक्षता अ.ने.ढुवानी मजदुर संघका यादव केसीले गर्नु भएको थियो । पुराना मजदुर नेता ज्ञानबहादुर थापाले संगठनका गतिविधिवारे धारणा राखेका थिए । कार्यक्रमको संचालन कृष्ण केसीले गरेका थिए भने नरसिंह कार्की र धनिराम विश्वकर्माले सामाजिक सुरक्षा ऐन, श्रम ऐनको कार्यान्वयन तथा दुर्घटना परेको अवस्थामा सरकार र संगठनले गर्ने आवश्यक सहयोगका बारेमा जिज्ञासा राखेका थिए ।
यो संगठनको आधार देशव्यापीरुपमा रहेको छ र अहिले संगठनात्मक तथा वैचारिक प्रशिक्षण सहित संगठनलाई सुदृढ गर्ने अभियानमा लागेको सो संगठनका अध्यक्ष चक्रबहादुर खत्रीले कम्युनिष्ट अनलाईनलाई बताएका छन ।