रोकिएन चुरे वन क्षेत्र अतिक्रमण

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

विराटनगर । प्रदेश १ का सात जिल्लामा फैलिएको चुरे वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। चुरे वन क्षेत्र रूख, वन्यजन्तु साथै गिटी र बालुवा चोरी निकासी गर्नेका लागि सहज स्थान बनेको छ । अवैध गिटी बालुवा उत्खननका कारण पहिरो र कटान हुने क्रम बढेको छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र भोजपुरलाई चुरे वन क्षेत्रले समेटेको छ।

काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढि रहेको चुरे संरक्षण क्षेत्रमा पर्ने इलाम माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। पहिले घना देखिएको वन पातलो बन्दै गएको छ, रूखबिरुवा र गिटीबालुवाको चोरी निकासीले रातारात वन विनाश भइ रहेको छ’ अध्यक्ष इदिंगोले भने। इलाममा माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो क्षेत्र चुरे क्षेत्रमा पर्छ। इलामको झापासँग जोडिएको क्षेत्रमा अनुगमन कम हुँदा चोरी तस्करी बढेको झापा अर्जुनधारा नगरपालिका ८ का स्थानीय रुद्रप्रसाद बेघा बताउँछन्।

चुरे क्षेत्रमै क्रसर र काठमिल छन्, अनुगमन छैन । वन उजाड बन्न लाग्यो, बेघाले भने । मोरङमा राष्ट्रपति चुरे संरक्षण क्षेत्रमै अवैध रूपमा ढुंगाखानी सञ्चालन गरी प्राकृतिक स्रोतको दोहन भइ रहेको छ। मोरङको याङसिलामा फैलिएको चुरेमा मोरङ र सुनसरी दुवैतर्फबाट वन फँडानी र तस्करी वर्षौंदेखि जारी छ । धरानका ठेकेदारले डोजर, स्काभेटर प्रयोग गरी ढुंगा निकाल्ने र ट्याक्टरबाट ओसार्ने काम गरि रहेका छन् ।