शरद पौडेलको गीति नाटक: गुमाको गीत

प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

आज भन्दा १८ वर्ष अघि दलितहरुबीचको आपसी छुवाछूत भेदभावलाई मूल विषय बनाएर सिर्जना गरिएको गीतिनाटकगुमाको यो सानो अंश आज अचानक पुरानो सिडिमा फेला पर्यो थाहछैन अरु अंश कता कसरी डिलिट भयो खैर, जति पाएँ त्यति नै पठाएँ भन्दै लेखक शरद पौडेलले पठाउनु भएको यो अंश यहाँ प्रस्तुत गरेका छौं धन्यवाद

 

(मध्यान्नको समय गाउँबाट आफ्नो प्रेमी सन्ते आफुलाइ छाडेर भागेको हल्ला गुमाले पनि सुन्छे दोजिया गुमा माइतीघरमा नै हुन्छे घरमा कोही नभएको यो समयमा गुमाले मनको विरह पोख्न थाल्छे )

गुमा :
लाग्यौ नि कहाँ दिलको राजा बनाई दोजिया

हरा र भरा बगैंचा मनको बन्दैछ खोरिया ।।

हरायो हाँसो गालाको लाली बढ्दैछ बिरानी

आँशुको दह फुटेर रातदिन भिज्दैछ सिरानी ।।

 

भागेकै हौ कि मलाई एक्लै यो हालमा छाडेर

लागेकै हौ कि नभेट्ने अब कसम भाकेर ।।

दमैकी छोरी कामीलाई ताकी भन्दैछन् गाउँलेले

पिरतीमा हुन्न तल र माथि भन्थ्यौ नि तिमीले ।।

 

पिरेममा हुन्छ यस्तो र उस्तो सपना देखायौ

ममाथि मयाँ साँच्चिकै हो कि सोझीलाई छक्कायौ ?

विश्वासले आफ्नो हृदये सारा सुम्पिएँ तिमीलाई

हृदयेमात्र किन र प्यारा ज्यान सुम्पें तिमीलाई ।।

 

पेटमा मेरो पिरतीको हाम्रो कोपिला फूल्र्दैछ

जुनकै भाँती आकार उस्को दिन्दिनै बढ्दैछ ।।

तर न खुशी न ओठमा हाँसो म बाँचु कसोरी ?

भन आँशुको पोखरी माथि म नाचुँ कसोरी ??

 

छातीको भित्र राखुँला भन्थ्यौ आज छु बिरानमा

आँशुका धारा नरुकिकनै बग्दैछन् ओठमा ।।

आगाको रापझैं पीरले पोल्छ छातीको बीचमा

मर्छु कि बाँच्छु म यस्तो घडी आँशुको गीतमा ?

 

यो कस्तो पैरो जिन्दगीमाथि गरें र के बिराम ?

उभिनेसम्म जिमिन भएन गएर काँ हराम ??

खुशी भै बाँच्ने हरायो आश जिन्दगी काँ फालुँ ?

हालुँ कि पासो, कि भिरबाट गएर फाल हालुँ ?

 

आकाशमाथि घुमेका बादल यो खवर लगिदेउ

जहाँ छन् सन्ते उनैलाई भेटी मेरो हाल भनिदेउ

बिचल्ली मेरो बेहाल मेरो दुरुस्त सुनाइदेउ

छातीका बह भिजेका गह यो तस्बिर देखाइदेउ ।।