ऊर्जा मन्त्रालयको साथ लिएर, डेडिकेटेड प्रसारण लाइन गौतमबुद्ध विमानस्थलमा निर्माण गरिने

प्रकाशित मिति : सोम, साउन २७, २०७६

काठमाडौँ । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले साथ दिएको छ।

विमानस्थल निर्माणका लागि विद्युत् सेवा उपलब्ध गराउनुपर्ने देखिएपछि ऊर्जाले अन्तरसरकारी निकायबीचको समन्वयको आधारमा डेडिकेटेड प्रसारण लाइन बनाउने सहमति जुटेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतको उपस्थितिमा आइतबार ऊर्जा मन्त्रालयमा छलफल भएको थियो।

छलफलमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधिकरणले तत्काल शुरु गर्ने, सडक विभागका तर्फबाट गर्नुपर्ने काम पनि तत्कालै शुरु गर्ने र त्यसमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक सहजीकरण गर्ने विषयमा सहमति भएको ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।

छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिएका थिए। पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत् सेवाका लागि गर्नुपर्ने काम कारवाहीका बारेमा जानकारी गराएका थिए।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय डा सञ्जय शर्मा, दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको सहभागिता थियो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए।
हालै मात्र उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री भट्टराई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिने बताउँदै आएका छन्।
निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आफ्नै कार्यकालमा सम्पन्न गर्ने घोषणा समेत मन्त्री भट्टराईले गरिसकेका छन्।