सैनिक कल्याणकारी कोष : सेवामा रहँदादेखि सेवानिवृत्त भएपछि

प्रकाशित मिति : शनि, साउन २५, २०७६

काठमाडौं । मासिक तलबका हिसाबले नेपाली सेनाको जागिरलाई खासै आकर्षक मानिँदैन । तर सेनामा रहँदा मिल्ने सेवासुविधाले सैनिकलाई सुख–दुःखमा सहयोग हुने गर्छ ।

शान्ति सेना मिसनले सैनिकलाई आर्थिक रुपमा अलि बढी लाभ दिन्छ । अप्ठ्यारो पर्दा सैनिकले प्रयोग गर्न मिल्ने अर्काे कोष हो – सैनिक कल्याणकारी कोष । कोषले सैनिकलाई व्यक्तिगत र पारिवारिक समस्या टार्न तथा योजनावद्ध रुपमा लाभ लिन सहयोग गर्छ ।

सैनिक ऐन २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ अनुसार कोष सञ्चालित छ । २०३२ सालदेखि सञ्चालनमा आएको कोषमा आर्थिक अनियमितता हुने गरेको आरोप समेत लाग्ने गर्छ ।

अनियमितताको आशंका हटाउन कोषले हरेक वर्ष वित्तीय विवरण सार्वजनिक गरेर पारदर्शिता कायम गरेको छ । कोषको हिसाबकिताब सार्वजनिक गर्ने चलन शुरू गरिएको थियो हालका प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक हुँदा । उनले पत्रकार सम्मेलन नै गरेर कोषको हिसाबकिताब सार्वजनिक गर्ने कामको सुरुवात गरेका थिए । सेनाले त्यसवेलादेखी नै हरेक वर्ष कोषको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनापति पूर्णचन्द्र थापा ।
प्रधानसेनापति थापाले पत्रकार सम्मेलन गर्दै सेनाभित्र भ्रष्टाचार भएको स्विकारेका थिए । उनले सेनाभित्रको भ्रष्टाचार जरैदेखि हटाउन आफू लागिपरेको भन्दै उनले यसका लागि समय भने लाग्ने बताएका थिए । थापा चिफमा नियुक्ती भएसंगै कल्याणकारीको सुधारमा जोड दिएका छन् ।

नेपाली सेनाले दसै, तिहारका उपलक्ष्यमा बिहीबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले सेनाले अस्पताल, पेट्रोलपम्प सन्चालन गरेर व्यापार गर्न नखोजेको भन्दै यस्ता क्षेत्र सेनामा कार्यरत् कर्मचारीको कल्याणकारीको लागि मात्र भएको प्रस्ट समेत पारेका थिए ।

संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति सेनामा गएका व्यक्तिको १ करोड ३२ लाख रुपैयाँ बिउ पूँजीबाट ३० दशकअघि स्थापना भएको कोषमा हाल ३८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । विभिन्न क्षेत्रमा लगानीसहित गरेर कोषको सम्पत्ति ४४ अर्ब २२१ करोड ९० लाख ४० हजार रुपैयाँ रहेको छ । कोषको रकम हरेक वर्ष बढ्दै जानेछ । कोषबाट १० लाख व्यक्ति लाभान्वित हुने गरेको जनाइएको छ ।

‘कोषमा २०७५ असार मसान्तमा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा यस वर्ष २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएको छ,’ कोषका निर्देशक सहायक रथी सागरबहादुर केसीले कार्यक्रममा भने, ‘आर्थिक वर्ष २०७५\०७६ मा कोषको नगद रकम २ अर्ब ८० करोड ३६ लाख वृद्धि भई ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।’ कोषले विभिन्न निकायमा ५ अर्ब ६४ करोड ३० लाख ४० हजार लगानी गरेको छ ।

आफू निर्देशक हुँदा कोषको हिसाबकिताब सार्वजनिक गर्दै अनियमितताको आशंका हटाएका हालका प्रधानसेनापति थापाले सुधारका काम समेत गरिरहेका छन् । कोषमा मात्रै नभई उनले सैनिक संगठनभित्र गरिरहेको सुधार प्रशंसाको विषय बन्ने गरेको छ । राजनीतिक भनसुनदेखि खरिद प्रक्रियामा हुने भ्रष्टाचारलाई समेत सेनापति थापाले हटाएको चर्चा संगठनभित्र छ ।

कोषले के–के गर्छ ?

कोषले सैनिक कर्मचारी र परिवारका सदस्यको हितमा आर्थिक लगानी गर्ने गरेको छ । स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा कोषका गतिविधि केन्द्रित छन् । कोषले बहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारका लागि २०३४ सालबाटै निःशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । जसअनुसार वीरेन्द्र सैनिक अस्पतालमा आर्थिक वर्ष २०७५\०७६ को असारसम्ममा करीब ४ लाख जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेको विवरण सार्वजनिक गरिएको छ ।

सैनिकका पतिपत्नीको सैनिक अस्पतालमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिको रोग लागे प्रतिव्यक्ति ५ लाख बराबरको स्वास्थ्य उपचार सुविधासहित स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालनमा रहेको छ । यसबारे सैनिक कर्मचारीले लाभ लिने गरेका छन् ।

शिक्षातर्फ कोषमार्फत सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सञ्चालित छ । विद्यालय २०३५ सालदेखि मकवानपुरको भिमदेफीमा सुपिङ बहुमुखी क्याम्पसको नामबाट सञ्चालित थियो । पछि भक्तपुरमा स्थानान्तरण भएको हो । कोषले महाविद्यालयको सुविधालाई देशव्यापी रुपमा क्रमशः विस्तार गर्दै लैजाने योजना बनाएको छ । पोखरा, धरान, सुर्खेत, धनगढी र चितवनमा पनि सैनिक आवासीय महाविद्यालय सञ्चालनमा रहेका सहायक रथी केसीले बताए । ‘कोषबाट सञ्चालित विद्यालय सबै प्रदेशसम्म लैजाने नीति अनुसार प्रदेश २ मा समेत सैनिक विद्यालय निर्माण कार्य भइरहेको छ,’ उनले भने ।

कोषबाट सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सैनिकका छोराछोरीले मेडिकल शिक्षा लिने अवसर पाइरहेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिइएको लाइसेन्स परीक्षामा देशभरको औसत परीक्षाफल करीब ४० प्रतिशत रहने गरेकामा संस्थानको नतिजा शतप्रतिशत रहेको जनाइएको छ ।

सीप तथा स्वरोजगारको क्षेत्रमा सैनिक र परिवारका लागि व्यावसायिक कृषि तथा पशुपालनको तालिम प्रदान गरेर स्वरोजगार बन्न सक्ने वातावरण निर्माण गरिएको कोषले जनाएको छ । कोषले लमजुङको वेसिशहर–२ मा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको चलाएको छ । केन्द्रमा आगामी भदौबाट तालिमको समेत व्यवस्था गर्न लागिएको छ ।

सेनापति थापाले पदभार ग्रहण गरेलगत्तै कल्याणकारी कोषमार्फत स्वदेश तथा विदेशमा अध्ययन गर्न जाने सैनिकका छोराछोरीले चिकित्साशास्त्र, ईन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक तहको अध्ययनको लागि ‘सैनिक सन्तति प्राविधिक शिक्षण सुहलियत कर्जा’बाट २५ लाखसम्मको ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउने निर्णय गरेका थिए । सैनिकका छोराछोरीलाई दिँदै आएको वार्षिक १० हजार छात्रवृत्तिलाई बढाएर हाल २० हजार पु¥याएको छ । हालसम्म २१ हजार ४ सय ६८ जना सैनिकका छोराछोरीलाई २१ करोड ६४ लाख बराबरको कर्जा उपलब्ध गराएको छ ।

सैनिक कल्याणकारी कोषको सुविधाले सैनिक तथा परिवारलाई जीवनयापनमा सहज भएको छ । सेनापति थापाको सक्रियतामा कोषमा कायम गरिएको पारदर्शिताले कोषको प्रभावकारिता र कल्याणकारी कार्यमा लगानी बढाउँदै गएको छ ।