संघीय व्यवस्था भनेको खेलौना होइन, मन परेन भनेर फेर्न मिल्ने : जनार्दन शर्मा

प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्यतथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्र्याइँ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन आग्रह गरे।

उनले संविधानमाथि नै प्रश्न उठाउने दुष्प्रयास भइरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए। संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएको भएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताए। संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी उनले गरे।

उनले भने, “संघीय व्यवस्था भनेको गुडिया होइन। खेलौना होइन। यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिँदैन। त्याग र बलिदानबाट प्राप्त भएको कुरा हो, त्यसकारणले यसलाई गुडियाको रुपमा नलिइयोस्। म सचेत र सर्तक गराउन चाहन्छु।