नेपालमा उत्पादित विद्युत् निर्यात सुरु

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले इनर्जी बैंकिङको अभ्यास थालेको छ । तीन दिनसम्म आएको वर्षा र त्यसले विद्युत् आवागमनमा पारेको प्रभावका कारण विद्युत् खपत कम भएको र कुलेखानी जलाशय भरिएपछि उत्पादन बढेका कारण मन्त्रालयले ऊर्जा बैंकिङको अभ्यासस्वरूप भारतलाई विद्युत् निर्यात गर्न थालेको हो । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबारदेखि भारततर्फ विद्युत् निर्यात गर्ने कामको सुरुवात भएको जानकारी दिए । अहिले हामीले आइतबार १ सय ५० मेगावाट, सोमबार र मंगलबार २ सय मेगावाटका दरले नेपालमा उत्पादित बिजुली भारतमा निर्यात गरेका छौं, मन्त्री पुनले भने । यो अभ्यासले भविष्यले नेपालले उत्पादन गरेको बिजुली भारतमा निर्यात गर्न सजिलै सकिन्छ भन्ने कुरा प्रमाणित भएको उनको भनाइ छ ।

नेपालमा उत्पादित विद्युत् विराटनगरको कटैया कुसाहा, वीरगन्जस्थित परवानीपुर–रक्सोललगायत सातवटा अन्तरदेशीय ट्रान्समिसन लाइनबाट भारत निर्यात गरिएको छ । वर्षापछिको बाढीका कारण तराईका अधिकांश भू–भाग जलमग्न हुँदा सो क्षेत्रमा विद्युत् कटौती हुन पुगेको छ । तराईका सर्वसाधारण तथा औद्योगित क्षेत्रमा विद्युत् कटौती हुँदा दैनिक झन्डै ४ सय मेगावाट विद्युत् खपत कम भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, यसपालि असार महिनामै कुलेखानी जलाशय भरिँदा सो परियोजनाले समेत पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मिटर रहेकोमा यस वर्ष १५२६.६६ मिटर पुगेको हो । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको छ ।

मन्त्री पुनले बाढी र डुबानका कारण अवरुद्ध हुन पुगेको तराई–मधेसमा भने बुधबारदेखि विद्युत् आपूर्ति सहज हुने जानकारी दिएका छन् । बाढी तथा पहिरो र डुबानका कारण अवरुद्ध भएका सबै प्रसारण लाइन, ग्रिड तथा सबस्टेसनहरू हाल चालू रहेको मन्त्री पुनले जानकारी दिए । हाल विद्युत्को उच्च माग ११ सय २५ मेगावाट छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको परीक्षण सफल मन्त्री पुनले सिक्टा सिँचाइ आयोजनाको परीक्षण सफल भएको जानकारी दिएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले कैलाली जिल्लामा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका आठवटा गेटमध्ये तीनवटा गेटबाट पानी पठाएर गरिएको परीक्षण सफल भएको बताएका हुन् । सो आयोजना २०७०÷७१ मा निर्माण सम्पन्न भएको थियो । तीनवटा गेटबाट पानी पठाएपछि १४ हजार ३ सय हेक्टर क्षेत्रफल जमिनमा हुँदै आएको सिँचाइ बढेर ३८ हजार हेक्टर सिञ्चित भएको छ । मन्त्री पुनले गत १० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सिक्टा सिँचाइ आयोजनाको मर्मतको काम भइरहेको जानकारी दिए ।