धरानमा जताततै डेंगुको संक्रमण, एक हजार जनाको रगत परीक्षण, 4 सय 57 जनामा संक्रमण भेटिए

प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६

काठमाडौं । धरानको विजयपुर अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सक सञ्जीव बज्राचार्य। विराटनगर। प्रदेश एकको पर्यटकीय नगर धरान यतिबेला लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको चपेटामा परेको छ। गर्मी बढेपछि जतासुकै डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालहरु बिरामीले भरिभराउ छन्। जताततै रोगको संक्रमण फैलिएको छ।

प्रदेश १ का विभिन्न ठाउँबाट सबैभन्दा धेरै बिरामी पुग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या दिन प्रतिदिन बढ्दो छ। प्रतिष्ठानका अनुसार एक हजार जनाको रगत परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण भेटिएको छ। विजयपुर अस्पतालमा उपचार गर्न पुगेका ५० भन्दा बढी बिरामीमा समेत संक्रमण फेला परेको जनाइएको छ।

धरानमा यसअघि निकै सानो दरमा डेंगुका बिरामी फेला परेका थिए। अघिल्लो वर्ष जम्मा ११ जना संक्रमित भेटिएका थिए। ‘‘तर, यो वर्ष गर्मीयामको सुरुवातदेखि नै बिरामी बढिरहेका छन्,’’ प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले भने,‘‘ हामीकहाँ डेंगुका विज्ञ चिकित्सक उपलब्ध भएकोले उपचारमा समस्या छैन्।’’रौनियारले डेंगुरोगी र प्रतिष्ठानमा उपचारको अवस्थाबारे जानकारी लिन आएको संघीय सांसद जयकुमार राईसहितको टोलीलाई प्रतिष्ठानले उपचारमा कुनै कमजोरी नगर्ने विश्वास दिलाएका छन्।

धरान उपमहानगरपालिका वडा नम्बर १५ र १८ लाई डेंगु संकटग्रत घोषणा गरिएको छ। वडा नम्बर ९ र १० पनि अधिक बिरामी फेला परेका छन्। संक्रमण अन्यत्र पनि फैलदो अवस्थामा पुगेको छ। रोग परीक्षण गर्ने किटकोसमेत अभाव हुन थालेको छ। प्रमुख विपक्षी कांग्रेसका सांसद शिवनारायण सिंह गन्गाईले प्रदेशसभाको बैठकमै डेंगु परीक्षण गर्ने किटको मूल्य एकसयबाट बढाएर पाँच सय पुर्याइएको भन्ने गुनासो आएकोले यसलार्य रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

धरानका १९ वडामा जोखिम

डेंगु नियन्त्रण अभियानमा धरान उपमहानगरले आफ्नो संरचनलाई चुस्त रुपमा परिचालन गरेको जनाएको छ। स्थानीय सरकारले आफ्नो तहबाट जम्मा दुईवटा सेक्टर वातावरण सरसफाई, लार्भा नष्ट गर्ने र औषधि छर्कने कामलाई गति दिएको जनाइएको छ। उपमहानगरको स्वास्थ्य टोली १९ वटा वडामा खटिएको स्वास्थ्य महाशाखाका प्रमुख तथा रेपिड रेस्पोन्स टिमका सहसंयोजक रामबाबु यादवले जानकारी दिएका छन्।

उनले भने,‘‘लामखुट्टे नियन्त्रण, लर्भा मार्ने र औषधि छर्ने काममा जनताबाट समेत ठूलो साथ र सहयोग मिलेको छ। सफा पानीमा डेंगु फैलाउने लामखुट्टे बस्ने र अन्डा दिने भएकोले पानी स्टोर नगर्नेतर्फ सचेत हुन भनिरहेका छौं। औषधि छर्ने क्रमलाई पनि बढाइएको छ।’’ यादवले स्वास्थ्यकर्मीहरुको टोली वडा वडासम्म पुगेर दिनरात खटिएका जानकारी दिएका छन्। अधिकरुपमा संक्रमण फैलिएका वडाहरुमा स्वास्थ्यकर्मी तथा प्राविधकको टोली बढी केन्द्रीत भएको उनले बताए।

‘‘वयस्क लामखुट्टे मार्ने र लार्भालाई हुर्कनै नदिने रणनीतिअनुसार काम गरिरहेका र्छौ,’’ यादवले भने,‘‘स्वास्थ्यकर्मीहरु र प्राविधिकहरुको टोली समूहमा विभाजित भई लार्भा नष्ट गर्ने र औषधि छर्कने काम गरिरहेका छन्। वडा नम्बर २० बाहेक सबैतिर हामी पुगेका छौं।’’
धरानमा रोगको संक्रमण फैलिएपछि मोरङका सुन्दरहरैंचा, बेलबारी, पथरी र उर्लाबारी नगरपालिकाले सरसफाइ तथा लामखुट्टे मार्ने अभिायन सुरु गरेका छन्।

रोगको संक्रमण नफैलियोस भनेर सचेतना अपनाउन सुरु गरिएको सुन्दरहरैंचाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए। भने,‘‘सरसफाइमा ध्यान दिन र सचेत रहन नगरवासीलाई पनि आह्वान गरेका छौं।’’ बेलबारी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको जनाएको छ। रोग लाग्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय भएकाले नगरवासीलाई जागरुक बनाउन स्वास्थयकर्मीको टोली परिचालन गरिएको हो।

द्रुत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोकमा रहेका बाइक ग्यारेज, होटल र पसलमा टोलीले आफैँ सरसफाइ गर्दै चेतनामूलक कार्यक्रमसमेत गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताएका छन्।
यस्तै, उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्रमा औषधी छिटेको छ। सुन्दरहरैंचा नगरपालिकाले पनि बजार क्षेत्रमा सरसफाइ गरेको छ।

प्रदेश सरकारबाट निःशुल्क उपचार

प्रदेश १ सरकारले डेंगुरोगीको निःशुल्क उपचारको प्रबन्ध गरेको छ। मुख्यमन्त्री शेरधन राईले यसबारले प्रदेशसभालाई यसबारे मुख्यमन्त्री शेरधन राईले जानकारी गराएका छन्। धरानका डेंगु पीडितको निःशुल्क उपचार गर्ने प्रबन्ध गर्न सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै भने, ‘‘बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेका छौं।’’

राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताएका छन्। प्रदेश सरकार धरानमा फैलिएको डेंगुरोगको प्रकोपबारे जानकार र गम्भीर दुबै रहेको बताउँदै राईले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए। धरानका विभिन्न वडामा डेंगुरोगको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठन पाठन बन्द गरिएको छ। मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरु गरेको छ।