सार्वाजनिक यातायात अवरुद्ध गरेकाले बल प्रयोग गरिएको हो, घटनाको छानविन हुन्छ : गृहमन्त्री थापा

प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्दा सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिदैं उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र सोही दिन साँझ नै छोडिएको बताए ।

नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायित्व हो, कानून विपरीत बल प्रयोग भए नभएको छानबिनबाट अवगत हुनेछ, प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु, गृहमन्त्री थापाले भने ।

सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण नहुने उनले बताए ।

जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई सरकारले हनन नगर्ने उनले स्पष्ट पारे ।