चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा नेपालको संलग्नताप्रति अमेरिकाको चासो : अमेरिका भन्छ ‘चीनले गरेको सहयोगले कसैको हित भएको छैन’

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६

चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले भने, ‘बीआरआईमाथि हामीले गरेको अध्ययन तपाईंहरूले पनि हेर्न सक्नु हुन्छ । चीनले गरेको सहयोगले कसैको हित भएको खासै देखिँदैन ।’

चीनले बीआरआईमार्फत एसियामा प्रभाव जमाउन खोजिरहेका बेला अमेरिकाले यस क्षेत्रमा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अघि सारेको छ । जानकारहरूका अनुसार यो चीनको प्रभावलाई रोक्ने अमेरिकी रणनीति हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल फर्केको दुई सातामै यसबारे अमेरिकाले चासो देखाएको हो । चीनले बीआरआईमार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको टिप्पणी आइरहेका बेला नेपालको यसमा संलग्नतामाथि उच्च तहका अधिकारीहरूबाट यसअघि पनि प्रश्न उठाइएको थियो । हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरूमा भ्रष्टाचार बढेको, अधिनायकवाद हावी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो गाडेको उल्लेख छ ।