समृद्ध नेपालको सपना साकार हुँदै : जेठको पहिलो सातादेखि काठमाडौंका चोकचोकमा ट्राफिक लाईट

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६

राजधानीको आठ चोकमा जेठको पहिलो सातादेखि नै ट्राफिक लाइट सञ्चालनमा आउने भएको छ । सिंहदरबार, पद्मोदय मोड, कालीमाटी, पुरानो बानेश्वर, तीनकुने, बागबजार, मित्रपार्क, गौशाला चोकमा अत्याधुनिक ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।

प्रिजिल कन्स्ट्रक्सनका अनुुसार अहिले आठै वटै स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ । सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले जेठ पहिलो सातादेखि आठ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइने बताए । ‘आठ स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आगामी जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याइनेछ ।’ यो खबर आजको नागरिक न्युजमा छापिएको छ ।

जडान गर्न लागिएको ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित भएको बताइएको छ । ‘ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने व्यवस्था छ,’ ‘रिमोट सिस्टमबाट सञ्चालन गरिनेछ ।’

ट्राफिक लाइट जडान कार्यको सबकन्ट्राक्टर यार्सा टेक्नोलोजीका सञ्चालक रामचन्द्र खड्काले आठै स्थानमा ट्राफिक लाइट जडान सम्पन्न भइसकेको दाबी गरे । ‘आठ चोकमा ट्राफिक लाइट जडान गरिसक्यौं । अहिले परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘सम्भवतः जेठ १ गतेदेखि काठमाडौंको आठ स्थानमा १२ ट्राफिक लाइट सञ्चालनमा ल्याउनेछौं ।’