एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर मात्र राष्ट्रिय एकता मजबुत हुन्छ: अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने बताएका छन्।

शुक्रबार काठमाडौंको वसन्तपुरमा खड्गी समाजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ ।

प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गरे। उनले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि धारणा राखे।

प्रचण्डले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरूमा खड्गी समाजले र्पुयाएको योगदानको पनि चर्चा गरे।