साँज घलेको कविता: मातातीर्थ औंसी

साँज घले प्रकाशित मिति : शुक्रबार, बैशाख २०, २०७६

मातातीर्थ औंसी – बिझायो यो शब्दले आज फेरि बेस्सरी
रुँदै छ हृदय
अतीतको पाना घरीघरी पल्टाउँदै
कैद छ मस्तिष्कभित्र स्मृतिहरु
आमाको मायाको जरा
गाडिएको छ मुटुमा सोझै
‘आमाको मुख हेर्ने दिन’
कसरी, कता, कहिले गरौं म ???
संसाररुपी रंगमञ्चमा भावीद्वारा निर्धारित भुमिका
स्वयं ईश्वरबाट मध्यान्तरमा खोसिएर
ठगिएकी आमाको दर्शन
काकाकुल मन आमाको ममताको अभावमा
भतभती पोल्दै छ मन
आमाको वृद्धावस्थामा लौरो बनी
सहारा दिनु नजुरेको धोकोको रापले
त्यसैले उमार्न सकिन कुनै उत्साह
यस दिनको निम्ति
छिया छिया परेको हृदयको धरातलमा
त्यो हँसिलो, उज्यालो मुहारलाई
रातो टीकाले सजाएर पुज्ने रहर
केवल एक स्वप्न अब मेरो लागि
झक्झक्याउँदै छ झझल्को
पशुपतिको आर्यघाटमा आमाको कंचन शरीर
आगोको ठुलो ठुलो  लप्का माझ
पंचतत्वमा विलीन हुँदै गएको दृश्य
वितृष्णाले भरिएको थियो मन
प्रिय आमाको जीवनको अध्याय
समाप्त भएको सत्यरुपी विष पिउँदा
नौ महीना गर्भमा राखी साथीबाट मुक्त गरि
मलाई छुट्टै अस्तित्व दिने आमा संग
पुनः त्यही साथीमा बेरिएर
उनको अनन्त यात्राको सहयात्री
बन्न नसकेको विवशताले खिन्न मन
व्यथित छ मन निरन्तर
भावीद्वारा तय गरिएको शाश्वत नियम भित्र
संवेदनाको कणले भरिएको हृदय सम्भाल्दै
गुमाएको प्रियजनको स्मृति च्यापी
हरेक चाडमा यसरी नै मर्दै, बौरिन्दै
सबैभन्दा संवेदनशील प्राणी
मनुष्य हुनुको मोल चुकाउँदा चुकाउँदै