सरकारको आँखा 

यकिना अगाध प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६

देशमा कलकारखाना उद्योग केही पनि थिएन । उ बिहान बेलुकी मुख जोर्न साहुको भारी बोक्ने काम गथ्र्यो । सडकसँगै गाडी आएपछि त्यो काम पनि खोसियो ।
उ बेरोजगारी बन्यो । सबै सबै ठाउ काम खोज्यो तर भेट्टाएन । सरकारी अफिसरदेखि साहु महाजनहरुसम्म कामको लागि बिन्ति बिसायो । सबैले सुने पनि नसुनेझैं, देखे पनि नदेखेझैं गर्यो । धेरै दिनदेखि उ भोकमरीमा फस्यो ।
प्राण धान्न वनको बाँदर मार्यो र खायो ।
अघिसम्म उसको भोकको क्रन्दन नदेख्ने सरकारको आँखाले तुरुन्तै उसले बाँदर मारेर खाएको देख्यो । जनावर मारेर खाएवापत उ जेल पर्यो । किनाराका साक्षीहरु थिए काम खोज्दा काम नदिने तिनै सरकारी अफिसर र साहुमहाजनहरु ।