ललितपुरका सवारी चालकको स्वास्थ्य परीक्षण, २२ जनामा मधुमेह र २० जनामा उच्च रक्तचाप

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, बैशाख ८, २०७६

ललितपुर/ ललितपुरका २ सय २८ चालक तथा सहचालकमध्ये २२ मा मधुमेह र २० जना उच्च रक्तचापका बिरामी रहेको पाइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा नेपाल मेडिसिटीका प्राविधिकले यातायात मजदुरहरुको स्वास्थ्य परीक्षण गर्दा यो तथ्यांक पत्ता लागेको हो ।

लगनखेल बसपार्कमा आयोजित यातायात श्रमिकहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय २८ जना मजदुरको उच्च रक्तचाप र मधुमेह जाँच गरिएको हो । मेडिसिटीका महाप्रबन्धक बिजय रिमालसहितको प्राविधिक समूहले बसपार्कमै आएर मजदुरहको स्वास्थ्य जाँच गरेका हुन् । जसमध्ये २२ जनालाई मधुमेह ९सुगर० र २० जनामा उच्च रक्तचाप (प्रेसर) पाइएको स्टाफ नर्स मुना सिलवालले जानकारी दिइन् ।

यातायात श्रमिकमा स्वास्थ्यबारे सचेतना कम हँंदा रोगको उच्च जोखिम रहेको र सडक दुर्घटनासमेत हुने गरेकाले यातायात श्रमिक स्वास्थ्य परीक्षण राष्ट्रिय अभियानअन्तर्गत लगनखेलमा कार्यक्रम सञ्चालन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

समयमै स्वास्थ्य परीक्षण गराउन नसक्दा यातायात मजदुरहमा उच्च रक्तचापका कारण पक्षघात हुने गरेको, मिर्गौला, मुटुमा समस्या देखिएकाले स्वास्थ्य परीक्षणका लागि देशव्यापी अभियान चलाउनुपरेको संगठनका अध्यक्ष राईले बताए । यो अभियानले मजदुरलाई स्वास्थ्यप्रति सजग गराउदै सडक दुर्घटनाको जोखिमलाई समेत कम गर्ने संगठनका महासचिव नवराज घिमिरेले बताए ।

स्वास्थ्यप्रति मजदुरलाई सचेत गराउने उद्देश्य संगठनसंग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी गरे । आवश्यकता र सम्भाव्यता हेरेर विभिन्न स्थानमा मेडिसिटी आधारभूत तहमै गएर सेवा दिइरहेको छ । यसपटक यातायात मजदुरहलाई आधार बनाएर बसपार्कमै मेडिसिटीले स्वास्थ्य सेवा दिएको रिमालले जानकारी गराए ।

पहिलो चरणमा लगनखेलमा भएको शिविर आजसम्म चल्नेछ । त्यसपछि मेडिसिटीकै सहयोगमा नयाँ बसपार्क, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, कलंकी, सुन्धारा, पनौती, धादिङको धार्केलगायतका स्थानमा गरिने संगठनका महासचिव नवराज घिमिरेले बताए । (source: shilapatra.com