संविधान संशोधन अघि नबढाए सरकारमा टाँसि रहँदैनौं : महासचिव यादव

प्रकाशित मिति : शनि, बैशाख ७, २०७६

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । महासचिव यादवले पीडित परिवारको दुःख, कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकार्षण गराए । उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारी, कमिशनखोर, अपराधीलाई सरकारले पत्ता लगाउनुपर्छ ।

अहिले चर्चामा आएका भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई खोजी खोजी कानूनी कठघरामा उभ्याउनुपर्छ ।’ वर्तमान सरकार गठन भएको परिस्थितिको बारेमा उल्लेख गर्दै यादवले भने,‘विगत तीन वर्षमा नभएका काम यो सरकारले गरेको छ । संविधानले परिकल्पना गरेबमोजिम ऐन, कानूनहरु आएका छन् ।’ सरकारले जनताको हितमा काम गरिराखेको पनि जिकिर गरे । यद्धपी जनताले अपेक्षा गरेबमोजिम सरकारले काम गर्न नसकेको उनको स्विकारोक्ति थियो । उनले भने,‘सरकारको कामको गति बढेको छैन् ।

अब यसतर्फ पनि सोच्नुपर्छ । विगतको तुलनामा भ्रष्टाचार झनै बढेको उनको आरोप छ । कर्मचारीतन्त्र विगतझैं रहेको र उनीहरुको काम गर्ने शैलीमा कुनै परिवर्तन नआएको पनि यादवले टिप्पणी गरे । उनले भने,‘यसलाई पनि सरकारले सधार्नुपर्छ । यादवले सरकारले विगतमा आफूहरुसँग गरेका सहमति तथा सम्झौताहरु कार्यान्वयन नगरेकोमा भने आक्रोश पोखे । उनले भने,‘संविधान संशोधन गर्न यो सरकार संवेदनशील बनेन । सरकार अझैपनि सहमति कार्यान्वयन गरेर जाओस् भन्ने नै हामी चाहन्छौं ।

आउने संसद–अधिवेशनमा संशोधन प्रस्तुत भएन भने हामी सरकारमा टाँसिरहँदैनौं । सरकारबाट बाहिरिन्छौं । संविधान संशोधन गर्नको लागि दुई तिहाई बहुमत चाहिने भएकोले आफूहरु सरकारमा सहभागी भएको उनको जिकिर छ । संविधान संशोधनको लागि अब धेरै कुर्ने बेला नभएको उनले जिकिर गरे । संविधान र संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकार नदिएको उनको आरोप छ । उनले भने,‘प्रदेशलाई अधिकारविहीन बनाईएको छ । विकास निर्माणका कामहरु भएका छैनन् ।

त्यसैले प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ ।