नेपालले घरेलु टिम मलेसियालाई ८ विकेटले हरायो

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

आईसीसी एसिया अन्डर नाइन्टीन विश्वकप क्रिकेट छनोटको तेश्रो खेलमा नेपालले मलेसियासँग सानदार जीत हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस जितेर बलिङ रोजेको नेपालले मलेसियालाई ३३.५ ओभरमा अल आउट पार्दै ९२ रनमा समेटेको थियो । ९३ रनको झिनो लक्ष्य पाएको नेपालले १३ ओभर खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

लक्ष्य पूरा गर्ने क्रममा नेपालका ओपनर रित गौतमले ४५ बल खेल्दै पाँच चौकाको मदतले अविजित ३९ रन बनाए भने पवन सराफले १४ बलमा एक छक्का र २ चौका सहित १९ रन, असिफ सेखले एक छक्का र ३ चौका प्रहार गर्दै १८ बलमा २६ तथा कप्तान रोहित कुमार पौडेलले १ बलमा छक्का प्रहार गर्दै ६ रन बनाएर अविजित रहे । यो नेपालको दोश्रो जित हो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर पवन सराफले ३ कुशल मल्लले ३ कमल सिं ऐरीले २ र सागर ढकालले १ विकेट लिएका थिए ।

यो जित सँगै नेपाल अंक तालिकाको दोश्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा युएई तीन खेलमा तीनै खेल जित्दै ६ अंक र १.५९८ नेट रनरेटका साथ पहिलो स्थानमा छ । नेपालको तीन खेलमा दुई जित र एक हारका साथ चार अंक र ३.२०९ नेट रनरेट रहेको छ । त्यस्तै कुवेत तेश्रो, ओमन चौथो, मलेसिया पाँचौं र सिंगापुर छैटौं स्थानमा रहेका छन् । नेपालले आफ्नो चौथो खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ ।