२१७ रनको फराकिलो अन्तरले सिंगापुरलाई हराउँदै नेपालले गर्यो सानदार जितको सुरुवात

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५

काठमाडौं/ यू–१९ विश्वकप को एसिया क्षेत्रीय छनौटमा नेपालले आफ्नो पहिलो खेलमा संगापुरलाई २१७ रनले हराएको छ । नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमा सिमित भयो । उसले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन बनाउन सफल भएको हो । पवन सराफले ३ कमलसिंह ऐरी, कुशल मल्ल, सुर्य तामाङ २/२ तथा रसिद खानले सिंगापुरको १ विकेट लिए ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनाएको हो । सुरुवात खराब सुरुवात खराब भएपनि नेपालको स्कोर सम्मानजन बनाउन रोहित पौडेल सहितका व्याट्स्म्यानहरुले महत्वपूर्ण भूमिका खेले । ओपनर रित गौतम १ रन र आसिफ शेख ८ रमा आउट हुँदा नेपालको स्कोर ५।४ ओभर २ विकेट १८ रनको स्थितिमा थियो ।

त्यसपछि पवन सर्राफ र कप्तान रोहित कुमार पौडेलले ९० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका रुपमा पवन ४७ रनमा आउट हुँदा नेपालको स्कोर १ सय ८ रन पुग्यो । नेपालका लागि रोहितले ९५ रन बनाए । रोहितले १०५ बलमा ९५ रन बनाउँदा ७ चौका र एक छक्का प्रहार गरे । उनी शतक पुरा गर्न पाँच रनले मात्र चुके ।

रोहित अन्तर्राष्ट्रिय एकदिवसीयमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडि हुन् । उनले गएको जनवरी २६ मा १६ वर्षको उमेरमा युएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै सो किर्तिमान बनाएका हुन् । नेपालका लागि रसिद खानले ४८ तथा कमल सिंह ऐरीले ३१ रन बनाए भने कुशल मल्ल १० तथा भिम सार्की २६ रन बनाएर पभेलियन फर्किएका थिए ।