‘नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५

काठमाडौँ/ नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो सहयोग आवश्यक रहेको बताइएको छ ।

विमानस्थल हवाई यात्रु यातायात सेवाको व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताइएको हो ।

राष्ट्रिय सभाका सदस्य एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले विमानस्थलमा सञ्चालित सवारी साधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

“विमानस्थलमा सञ्चालित यातायातले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ,”– उहाँले भन्नुभयो । विमानस्थलमा सञ्चालित सवारी साधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई राम्रो सम्मान गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह समेत गर्नुभयो । “निजीसवारी साधनले यात्रु बोक्न पाइँदैन, निजी सवारी साधनले यात्रु बोके राज्यले कारबाही गर्नुपर्छ,”–उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशैभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताउनुभयो । “यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ,”–उहाँले भन्नुभयो ।

प्रदेश नं ३ का सांसद जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा हुन नसक्ने बताउनुभयो । विदेशी पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातमा पर्ने भएकाले त्यहाँका सवारी साधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मजदुर नेता तथा प्रदेशसभा सदस्य सिंखडाले राज्यको नीति निर्माण तहमा यातायात व्यावसायीलाई बेवास्ता गरिएको बताए । उनले सरकार समृद्धिको नाममा रेल र जलमार्ग भनेर फोस्रा गफमात्र गर्ने तर भएको यातायात क्षेत्रलाई व्यावस्थीत गर्न नसकेको आरोप लगाए । उनले स्वरोजगार मजदुरलाई सरकारले रोजिरोटीबाट विमुख गर्नु नहुने बताए ।

 

कार्यक्रममा  मजदुर नेताहरु ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राई, अखिल नेपाल यातायात मजदुर सघका अध्यक्ष सोम तामाङ,  नेपाल यातायात सोतन्त्र मजदुर सगठनका अधयक्ष भीम ज्योलाराईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

आजै भएको बन्द सत्रले पुरानै कार्यसमितिलाई चयन गरेको छ । एरपोर्टमा चल्ने हरियो नंबर प्लेटका २ सय ट्याक्सी कम्पनीमा आवद्ध छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्धारा विमानस्थल भएकाले पर्यटकलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नीजी सवारी साधनले कानुनविपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताउनुभयो । “टुटल, पठाओ र नीजी कारहरुले कानुनविपरीत मान्छे बोक्दा सरकार किन मौन बस्छ,”–उहाँले प्रश्न गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताउनुभयो ।

व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताउनुभयो ।

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको व्यवस्था लिमिटेडका अध्यक्ष बिजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।