लेनिन, स्टालिन र क्रान्तिकारी निरन्तरता

माओ त्से तुङ । प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

हाम्रा उच्च र माध्यम स्तरका काडरहरुमध्ये केमही (धेरै होइन) त्यस्ता मानिसहरु छन्, जसले विदेशी मुलुकहरुसँग अवैध सम्बन्धहरु कायम गरेका छन् । यो राम्रो कुरा होइन । तपाईं कमरेडहरुले, केन्द्रीय विभागहरुमा नेतृत्वदायी पार्टीसमूहहरु तथा पार्टी समितिहरु अनि प्रान्त, नगरपालिका र स्वशासित क्षेत्र तहका पार्टीसमितिहरुका नेतृत्वदायी तहका सबै मानिसहरुलाई, यस्तो कामकारबाहीलाई अनिवार्यरुपबाट रोक्नैपर्छ भन्ने कुरा प्रस्ट पार्नुहुनेछ भन्ने मेरो आशा छ । सोभियत संघमा गरिएका कतिपय कुराहरुलाई अनुमोदन गर्दैनौं र हाम्रो केन्द्रीय समितिले सोभियत नेताहरुलाई अनेक पटक भनिसकेको छ, अहिलेसम्म नउठाएका केही प्रश्नहरु पछि उठाइने छ । यी प्रश्नहरु उठाउने नै हो भने यो काम केन्द्रीय समितिले गर्नुपर्ने छ ।

जहाँसम्म सूचनाको कुरा छ । यसलाई पुर्याउने काम नगर्नोस । यस्तो सूचनाले बिलकुल काम गर्ने छैन, यसले त हानी मात्र पुर्याउन सक्छ । यसले दुई पार्टी र दुई देशहरुबीचका सम्बन्धहरुका जरा उधिन्ने काम मात्र गर्दछ । अर्को कुरा, यस्ता क्रियाकलापमा लागि परेका मानिसहरु बडो सकसको स्थितिमा परेका हुन्छन् । यस्तो खराब काम उनीहरुले पर्दा पछाडि बसेर गर्ने हुनाले उनीहरु धेरै नै दोषी भावनाबाट ग्रस्त हुन्छन् । ज–जसले सूचना हस्तान्तरण गरेका छन्, उनीहरुले यो काम प्रस्टसँग भन्नुपर्छ र यस्तो काम बन्द गर्नुपर्छ, नत्र छानबिन गर्दा फेला परेका खण्डमा उनीहरुलाई उचित सजाय दिइने छ ।

सोभियत संघको कम्युनिष्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन हुनुहुन्छ । अहिले रुसीहरुले स्टालिनरुपी तरबारलाई परित्याग गरेका छन् । हंगेरीका गोमुल्का र अरु केही मानिसहरुले सोभियत संघको छातिमा रोप्न र तथाकथित स्टालिनवादको विरोध गर्नका लागि त्यो तरबार टिपेका छन् । थुप्रै युरोपेली देशहरुका कम्युनिष्ट पार्टीहरु पनि सोभियत संघको आलोचना गरिरहेका छन् र उनीहरुको नेताचाहिँ तोग्लियाटी हो । साम्राज्यवादीहरु पपिन जनतालाई छप्काउनका लागि यो तरबार प्रयोग गरिरहेका छन् । उदाहरणका लागि केही समययता डलसले यो तरबार नचाइरहेको छ । त्यो तरबार भाडामा दिएको होइन, त्यो त मिल्काइएको हो । हामी चिनियाँहरुले यसलाई मिल्काएका छैनौं । पहिलो कुरा हामी स्टालिनको प्रतिरक्षा गर्छौं र दोस्रो कुरा यसका साथसाथै हामी उहाँका गल्तीहरुको आलोचना गर्छौं । हामीले ‘सर्वहारा वर्गको अधिनायकतन्त्रको ऐतिहासिक अनुभवबारे’ भन्ने लेख लेखेका छौं । स्टालिनलाई बदनाम गर्न र सिध्याउन खोज्ने केही मानिसहरुभन्दा भिन्न रुपमाबाट हामीचाहिँ वस्तुगत यथार्थअनुरुप काम गरिरहेका छौं ।

जहाँसम्म लेनिनरुपी तरबारको कुरा छ, के सोभियत नेताहरुले यसलाई पनि केही मात्रामा त्यागिसकेका छैनन् र ? मेरो विचारमा त यसलाई निकै ठूलो मात्रामा त्यागिसकिएको छ । सोभियत संघको बीसौं महाधिवेशनसमक्ष ख्रुस्चेवले प्रस्तुत गरेको प्रतिवेदनमा संसदीय बाटोबाट राज्यसत्ता कब्जा गर्न सकिन्छ भनिएको छ । यस भनाइको अर्थ के हो भने अब सबै देशहरुले अक्टोबर क्रान्तिबाट सिक्नु जरुरी छैन । अब यो मूल ढोका खोलिसकेपछि त लेनिनलाई स्वभावैले मिल्काएसरह भइहाल्यो नि ।

लेनिनवादको सिद्धान्तले मार्क्सवादलाई विकसित तुल्याएको छ । यसले कुनकुन सवालमा यो कार्य गरेको छ त ? पहिलो कुरा, यसले विश्वदृष्टिकोणको सवालमा अर्थात् भौतिकवाद र द्वन्दवादको सवालमा यो कार्य गरेको छ र दोस्रो कुरा, यसले क्रान्तिकारी सिद्धान्त र कार्यनीतिहरुको सवालमा, खास गरेर वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकतन्त्र तथा सर्वहारावर्गको राजनीतिक पार्टीको सवालमा यो कार्य गरेको छ । अनि त्यसपछि समाजवादी निर्माणका सम्बन्धमा पनि लेनिनका शिक्षाहरु गरेका छन् । १९१७ को अक्टोबर क्रान्तिबाट सुरु भई क्रान्तिको बीचबाट निर्माणकार्य चलिरह्यो र यसप्रकार लेनिनले निर्माणका क्षेत्रमा सात वर्षसम्म अनुभव संगाल्न पाउनुभयो, जुन अवसर मार्क्सले पाउनुभएको थिएन । हामीले सिक्दै आएका कुराहरु मार्क्सवाद–लेनिनवादका यिनै आधारभूत सिद्धान्तहरु नै हुन् ।

जनवादी क्रान्ति र समाजवादी क्रान्ति गरी हाम्रा दुवै क्रान्तिमा वर्गसंघर्ष चलाउने क्रममा जनसमूहहरुलाई परिचालित गर्दै आएका छौं, जुन प्रक्रियामा हामीले जनतालाई प्रशिक्षित गर्दै आएका छौं । हामीले वर्गसंघर्ष चलाउन सिकेको अक्टोबर क्रान्तिबाट नै हो । अक्टोबर क्रान्तिमा सहर र गाउँहरु दुवै ठाउँमा जनसमूहहरुलाई वर्गसंघर्ष चलाउने काममा पूर्ण रुपमा परिचालन गरिएको थियो । सोभियत संघले अचेल दक्ष मानिसहरुका रुपमा विभिन्न देशमा पठाउने गरेका मानिसहरु अक्टोबर क्रान्तिकालमा केटाकेटी वा किशोरकिशोरी नै थिए । त्यसैले उनीहरुमध्ये धेरैले यस प्रक्रियालाई बिर्सिसकेका छन् । कतिपय देशहरुका कमरेडहरु चीनको जनदिशा ठीक छैन भन्ने गर्दछन् र उनीहरु हैकमवादी तरिकाको नक्कल गर्न पाउँदा औधी रमाउँछन् । उनीहरु यसो गर्न चाहन्छन् भने उनीहरुलाई रोक्ने कुरै छैन, जेसुकै भए पनि हामी एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेप र परम्परा अनाक्रमणसहितको शान्तिपूर्ण–सहअस्तित्वका पाँच सिद्धान्तहरुलाई दृढताका साथ पालना गर्दछौं । हाम्रो आफ्नै देश अर्थात जनगणतन्त्रमाथि बाहेक अरु कुनै देशमाथि आफ्नो नेतृत्व लागू गर्ने हम्रो मनसाय छैन ।

पूर्वीयुरोपका कतिपय देशहरुको आधारभूत समस्या के हो भने उनीहरुले वर्गसंघर्षको राम्ररी सञ्चालन गरेका छैनन् र थुप्रै प्रतिक्रान्तिकारीहरुलाई फुक्काफाल छाडिदिएका छन्, न त उनीहरुले आफ्नो देशको सर्वहारावर्गलाई वर्गसंघर्षका क्रममा प्रशिक्षित तुल्याई उनीहरुलाई जनता र जनताका शत्रुका बीचमा सही र गलत कुराका बीचा तथा भौतिकवाद र आदर्शवादका बीचमा प्रस्ट विभेदको रेखा र्कोन उनीहरुलाई सघाउ पुर्याएका छन् । त्यसैले उनीहरुले जस्तो बीउ छरेका थिए अहिले त्यस्तै बाली थन्क्याउनुपरेको छ, अर्थात् उनीहरुले आफ्नै कामको नतिजास्वरुप आफ्नै टाउकातिर गोली सोझ्याएका छन् ।

तपाईंहरुसँग कति पुँजी छ ? लेनिन र स्टालिन मात्र । अब तपाईंहरुले स्टालिनलाई फ्यालिहाल्नुभयो र लेनिनका खुट्टालाई छाडिदिएर वा सायद उहाँको टाउकोलाई नै छाडिदिएर वा उहाँको हात काटिदिएर लेनिनको पनि अधिकांश भागलाई साँच्चै नै त्यागिदिनुभयो । हामी भने मार्क्सवाद–लेनिनवादको अध्ययन गर्ने काममा र अक्टोबर क्रान्तिबाट सिक्ने काममा दृढताका साथ लागिपरेका छौं । जनसमूहहरुमाथि भरपर्नु, जनदिशालाई अनुशरण गर्नु–हामीले उहाँहरुबाट सिकेका कुरा यिनै हुन् । वर्गसंघर्ष सञ्चालन गर्ने काममा जनसमूहहरुमाथि भर नपर्नु र जनताका शत्रुका बीचमा प्रस्ट विभेदरेखा नखिच्नु बडो खतरनाक कुरा हुनसक्छ ।

विभाग वा व्युरो तहमा रहेका बौद्धिक पृष्टभूमि भएका एकाध काडरहरु सामान्य जनवाद पुग्दो गरी सन्तोषजनक छैन भन्दै बृहत् जनवादको पुर्पक्ष गर्दछन् । ‘बृहत जनवाद’ भन्नाले उनीहरुको तात्पर्यचाहिँ पश्चिमा पुँवजीवादी संसदीय प्रणालीलाई अंगाल्नु र ‘संसदीय प्रजातन्त्र’, ‘प्रेस स्वतन्त्रता’ र ‘अभिव्यक्ति स्वतन्त्रता’ जस्ता पश्चिमी चीजहरुको पछि लाग्नु भन्ने नै हो । उनीहरुको पुर्पक्ष गराइ गलत छ, किनभने उनीहरुमा मार्क्सवादी विश्वदृष्टिकोण र वर्गसम्बन्धी दृष्टिकोणको कमी छ । बृहत् जनवाद र लघु जनवाद भन्ने शब्दहरु एकदमै गणितीय किसिमका भएका हुनाले पनि हामीले ती शब्द सापटी लिने गरेका छौं ।

(समयबद्ध, वर्ष ३, अङ्क ३, पूर्णाङ्क ८)