सगरमाथाको उचाइ पहिलोपटक नेपालको तर्फबाट आफैंले मापन गर्दै

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई विदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने समेत बताए ।

“नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला ” प्रधानमन्त्री ओलीले भने “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।” प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिदै मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाव दिएका छन् । “लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भने “गाइडको निर्देशन पालना गर्नुहोला ।”

कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबार त्यस तर्फ जादैछन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । समाचारदैनिकको समाचार